Prakash Adhikari March 26, 2022

काठमाडौं, चैत १२ गते। प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिनुभयो।

भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो।

प्रधानमन्त्री देउवासँग चिनियाँ विदेशमन्त्रीकाे शिष्टाचार भेट

चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच सौहार्द रुपमा छलफल भएको थियो।

सोही अवसरमा पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण गरिएको छ।

परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउनुभएको हो। तीन दिने नेपाल भ्रमणमा आउनुभएका वाङ आइतबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ।

Share Now

Leave a comment.