कुपण्डोल(ललितपुर), १३ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पूर्वाधार र प्रविधिको क्षेत्रमा विकासका लागि गैर आवासीय नेपालीलाई लगानी गर्न आह्वान गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघको १० औं विश्व सम्मेलन तथा अधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आह्वान गर्नुभएको हो ।
उहाँल्े लगानी गर्ने वातावरण बनाउन नेपाल सरकार सधैँ तत्पर रहेको बताउनुभयो ।
उहाँले विदेशमा आर्जन गरेको पुँजी, व्यवसायिक ज्ञान र सीप नेपालको विकासमा उपयोग गर्न पनि आह्नवान गर्नुभयो ।
प्रधानमन्त्री देउवाले त्यसका लागि सरकारले नीतिगत तथा कानुनीरुपमा सुधार गरेर सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
‘विश्वभरि छरिएर रहेको असंगठित पुँजी र ज्ञानलाई संगठित गरेर गैरआवासीय नेपाली संघले मुलुकको पुर्वाधार र प्रविधि विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । म विदेशमा आर्जन गरेको पुँजी प्राविधिक तथा व्यावसायिक ज्ञान, सीपको क्षेत्रमा लगानी आह्वान गर्दछु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘नेपालमा सडक, विद्युत् परियोजनासँगै थुप्रै क्षेत्रमा लगानीको खाँचो छ । त्यस्ता सम्भावित क्षेत्रमा लगानीको वातावरण बनाउन सरकार सकारात्मक रहेको छ ।’
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले कोभिड–१९ महामारी र भूकम्पका बेला ठूलो सहयोग पुर्याएको भन्दै प्रशंसा पनि गर्नुभयो।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले संघमा नेतृत्व चयन गर्ने सन्दर्भमा भएको एकताले नेपाल र विश्वभर रहेका नेपालीलाई एकदमै ठूलो र सकारात्मक सन्देश दिएको भन्दै त्यसका लागि प्रयास गर्ने सबैलाई धन्यवादसमेत प्रकट गर्नुभयो ।


















