Prakash Adhikari March 28, 2022

 

काठमाडौँ, १४ चैत्र । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्न पाउने भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि ३६ लाख ७९ हजार २४१ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदाता सूचीमा सूचीकृत गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि आयोगले स्वीकृत गरेको निर्वाचन तालिका बमोजिम नै सबै कार्यक्रम समयमै गरेको बताउनुभयो ।

उहाँले २०७९ वैशाख ३० गते मतदान गर्ने तयारी समय तालिका अनुसार नै भैरहेको बताउनुभयो । आयोगले निर्धारित समयमै मतदान गराउन मतदाता नामावली, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली र मतदान स्थल तथा मतदान केन्द्र तोकिसकेको छ ।

आयोगका अनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना मतदाता महिला छन् । लिङ्ग पहिचान नभएका वा अन्य समूहका १ सय८३ जना मतदाता छन् ।

स्थानीय तहको निर्वाचनको लागि बागमती प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता रहेका छन भनेसबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ जना मतदाता छन् ।

बागमतीमा पुरुष मतदाता १७ लाख ४ हजार ८ सय ९८ र मतदाता महिला १७ लाख ७ हजार ९ सयय ४२ तथा अन्य २९ जना छन् । कर्णालीमा ५ लाख ६ हजार १ सय ८० जना पुरुष र ४ लाख ९५ हजार ९९ मतदाता महिला मतदाताले स्थानीय निर्वाचनमा नाम दर्ता गराएका छन् ।

दोस्रो बढी मतदाता प्रदेश १ मा रहेका छन्। त्यहाँ ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् । प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय मतदाता पुरुष र १६ लाख ४७ हजार ५ सय ६१ मतदाता महिला र अन्य २३ जना छन् ।

मधेस प्रदेशमा १७ लाख ९७ हजार ९ सय ४५ पुरुष र १५ लाख ३३ हजार १ सय ५८ मतदाता महिला र अन्य ६७ जना छन् । लुम्बिनीमा कुल ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेकोमा १६ लाख १८ हजार ७३ पुरुष र १६ लाख १ हजार ३ सय ५२ महिला तथा ३२ जना अन्य मतदाता छन् ।

गण्डकी प्रदेशमा ८ लाख ४४ हजार ४ सय ५२ पुरुष, ९ लाख २४ हजार ९ सय ४८ महिला र ११ अन्य गरी कुल मतदाता १७ लाख ८९ हजार ४ सय ११ जना छन् ।

सुदूरपश्चिम प्रदेशमा ८ लाख ६ सय ६२ पुरुष र ८ लाख ३१ हजार ४ सय ७० महिला तथा १८ अन्य गरी कुल मतदाता १६ लाख ३२ हजार १ सय ५० जना छन् ।

झन्डै २२ हजार केन्द्र
निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रसमेत तय गरेको छ । देशभरि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदान स्थल तोकिएको छ ।

मधेस प्रदेशमा ४ हजार १ सय ८९ मतदान केन्द्र रहनेछन् । बागमती प्रदेशमा दोस्रो सबैभन्दा बढी १ हजार ७ सय ९२ मतदान स्थलमा १ हजार ९५ मतदान केन्द्र रहनेछन् ।

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थलमा ४ हजार ५१ केन्द्र, लुम्बिनी प्रदेशको १ हजार ६ सय २९ मतदान स्थलमा ३ हजार ८ सय ३२ केन्द्र, गण्डकीमा १ हजार २ सय ५३ मतदान स्थलमा २ हजार ३ सय केन्द्र, सुदूरपश्चिममा १ हजार १ सय ३५ मतदान स्थलमा २ हजार १ सय ३ केन्द्र तथा कर्णालीमा ९ सय ७ मतदान स्थलमा १ हजार ३ सय ८५ केन्द्र तोकिएको आयोगले जनाएको छ ।

Share Now

Leave a comment.