कीर्तिपुर(काठमाडौं), १४ चैत्र । त्रिदेशीय टी २० शृङखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेटमा टस हारेर ब्याटिड. गरेको नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पपुवा न्युगिनीले पूरा गर्न सकेन । उसले २० ओभरको निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ६८ रनमात्र जोड्न सक्यो । ऊ १९.२ ओभरमा अल आउट भयो
पपुवा न्युगिनीमा लागि नर्मन भानुले ५२, सेसे बऊले ३०,चाल्र्स अमिनीले २२, लेगा सैकाले २१, चाड सुपरले १३, असद भालाले ७, टोनी उराले ५,राइली हेकुरेले ३ रनको योगदान दिए ।
पपुवा न्युगिनीलाई रोक्नको लागि नेपालका क्याप्टेन सन्दीप लामिछाने र करन के.सी.ले ३। ३, अबिनाश बोहोराले २ र सोमपाल कामीले १ विकेट लिए ।
यस पहिले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।
आक्रामक सुरुआत गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । तर तेस्रो ओभरमा उनी रनआउट भए ।
कुशलले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २० रन बनाए ।
त्यसपछि अर्का ओपनर आसिफ शेख र रोहितकुमार पौडेलले नेपालको इनिङ्स अघि बढाए । यी दुईले ९ ओभरमा दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।
आसिफ र रोहित क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने सम्भावना देखिएको थियो ।
तर १२औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन थाल्यो । आसिफले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । आसिफसहित नेपालले लगातार ५ ओभरमा ५ विकेट गुमायो । अर्को ओभरमा रोहित पौडेल आउट भए । उनले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भए ।
१६औं ओभरमा नेपालले विकेट गुमाउने शृङखला रोक्यो । उक्त ओभरमा करण केसीले नर्मन भानुलाई २ छक्का प्रहार गरेका थिए । तर अर्को ओभरमा करण केसी ७ बलमा १४ रन बनाएर आउट भए ।
१९औं ओभरमा सोमपाल कामी १ रन बनाएर आउट भएपछि नेपालले आठौं विकेट गुमायो । विकेट जाने क्रम अझै रोकिएन । अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख ३१ रन बनाएर आउट भए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।
नेपाललाई रोक्ने क्रममा अलेइ नाओ र चाड सपर र चार्ल्स अमिनीले २ / २ तथा नर्मन भानु र रिले हेकुरेल १/१ विकेट लिए ।
नेपालले केही समय पहिले युएईमा सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक श्रृखलामा पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।


















