काठमाडौं, १५ चैत्र । विदेशी पर्यटकलाई नेपाल ल्याएर रमणीय स्थान भ्रमण गराई सुरक्षित रुपले स्वदेश पठाउने टाभल र टुर्स ब्यवसायीहरुको संस्था नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल्स एजेण्ट्स(नाट्टा)को निर्वाचन यही चैत्र १७ गते हुने भएको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसंग आबद्ध व्यवसायीहरुले रमेश थापाको नेतृत्वमा १५ सदस्यीय प्यानल उठाएका छन् भने एमालेनिकट व्यवसायीहरुले विनय बस्नेतको नेतृत्वमा प्यानल खडा गरेका छन् ।
एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीसंग आबद्ध व्यवसायीहरु समेत गठबन्धन प्यानलमा रहेकोले रमेश थापा समूह आफ्नो टिम पूरै विजयी हुनेमा विश्वस्त रहेको छ ।
मुनसन ट्राभल्सका थापाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहको वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल(कोलम्स ट्राभल्स् एण्ड टुर्स), उपाध्यक्षमा बरुण मेहता(वल्र्डवेज टुर्स एण्ड ट्राभल्स),महासचिवमा कुमारमणि थपलिया(प्रिसियस ट्राभल एण्ड टुर्स),सचिवमा युविका भण्डारी(शशिज् होलिडे इन्टरनेशनल ट्राभल एण्ड टुर्स),कोषाध्यक्षमा राजकुमार देवकोटा(वर्ल्ड फेवर ट्राभल एण्ड टुर्स) र कोषाध्यक्षमा राजा शाक्य(कन्फिडेन्स ट्राभल एण्ड टुर्स) रहनुभएको छ ।
यस्तै कार्य समितिका सदस्यहरुमा ढकनाथ काफ्ले(होलिडे एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स),नमराज भेटुवाल( अक्सफोर्ड ट्राभल एण्ड टुर्स),परशुराम घिमिरे(प्रिजेण्ट ट्राभल),रामशोभित नायक(रस्विता इन्टरनेशल ट्राभल एण्ड टुर्स),टेण्डि शेर्पा(डालिमा टुर एण्ड ट्राभल्स),महेश कोइराला(दीपक),नेपाल होलिडे मेकर, श्रद्धा जोशी(ए.एन.टी होलिडेज) र सबला भण्डारी (इन्द्र ट्राभल एण्ड टुर) रहनुभएको छ ।
२७ सूत्रीय घोषणा पत्र
रमेश थापाको समावेशी गठबन्धन समूहले २७ चुनाव जितेपछि आफ्नो कार्यकालमा गर्ने सूत्रीय प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ ।
जसमा ट्राभल प्याकेज बिक्री गरी प्राप्त विदेशी मुद्राको रिबेट व्यवसायीलाई पनि प्राप्त गराउन पहल गर्ने, प्याकेज बिक्रीमा लाग्ने भ्याट पर्यटन व्यवसाय पुनरुत्थान नभइञ्जेलसम्म कायम राख्न पहल गर्ने, कोभिडका कारण लागेको यात्रा प्रतिबन्ध खुकुलो बनाएर पर्यटन व्यवसायलाई पुरानै लयमा ल्याउन प्रयास गर्ने, आन्तरिक तथा दक्षिण एशियाको हवाई कनेक्टिभिटी बढाउन प्रयास गर्ने, सरकारले घोषणा गरेको पेड होलिडेको कार्यान्वयन गराउन पहल गर्ने कुरा समावेश गरिएको छ ।
लोकतान्त्रिक समावेशी समूहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारलाई घच्घच्याउने, पर्यटक सवारी साधान सञ्चालनमा भएका विभेद हटाउने, इम्बोस्ड नम्बर प्लेटमा पनि पर्यटक सवारी साधनमा अलग पहिचानको व्यवस्था गर्न माग गर्ने, पर्यटन पूर्वाधार निर्माणमा लगानी बढाउन सरकारलाई घच्घच्याउने जस्ता कार्यक्रम पनि समेटेको छ ।
यो समूहले कोरोना प्रभावित सदस्य कम्पनीहरुलाई आगामी ५ बर्षसम्म भ्याट छुटका लागि पहल गर्ने,पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिलाउन पहल गर्ने, राजधानी लगायतका अन्य पर्यटकीय नगरीमा टुरिष्ट बस टर्मिनल र पार्किड.को व्यवस्था गर्न लगाउने, बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टलाई निरन्तरता दिने, स्वदेश र विदेशमा बर्षेनी पर्यटन प्रबर्धनका कार्यक्रम आयोजना गर्ने, आइटासंग गरिएका संझौताको समीक्षा गर्ने,विदेशी हवाई कम्पनी आकस्मिक रुपमा बन्द हुँदा त्यस्ता कम्पनीको टिकट बिक्री गर्ने व्यवसायीहरुलाई रिफण्डमा समस्या परेकोले हवाई कम्पनीहरुलाई सेक्युरिटी फण्ड व्यवस्था गर्न लगाउने , पर्यटकीय आकर्षण भएका प्रमुख सम्पदा क्षेत्र, गन्तव्य स्थल र राजमार्गहरुमा सार्वजनिक शौचालय निर्माण गर्न स्थानीय निकायसंग सहकार्य गर्ने, विमानस्थलमा पर्यटन आवागमन झन्झटरहित बनाउन र ईभिसा कार्यान्वयन गर्न पहल गर्ने कुरालाई पनि प्राथमिकतामा राखेको छ ।
“पर्यटन पुनरुत्थान र एकता अवको आवश्यकता ” भन्ने नारा लिएर मैदानमा उत्रिएको थापा समूहले टुरिष्ट गाइडको दक्षता अभिबृद्धि गर्ने,नाट्टालाई पर्यटन सल्लाहकारको रुपमा स्थापित गर्न र पर्यटनसम्बन्धी अध्ययन र अनुसन्धान गर्न रिसर्च डिपार्टमेण्टको स्थापना गर्ने, सदस्य कम्पनीलाई प्रविधिमैत्री बनाउन आवश्यक तालिम गर्ने, नाट्टा सचिवालयको स्तरोन्नति गर्ने, नेपाली मुद्रामा नै बीएसपी सेटलमेण्ट गर्ने व्यवस्था मिलाउन पहल गर्ने, भुक्तानी र अध्यागमन समस्याहरुको समाधान गर्ने, नाट्टाका सातै प्रदेशका सदस्यहरुको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्ने,सातै प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान,विकास र प्रवर्धन गर्ने र संस्थाका गतिविधिहरुलाई मिडिया सेन्टरबाट पाक्षिक रुपमा सदस्यसामु पुर्याउने विषयलाई आफ्नो घोषणा पत्रमा समेटेको छ ।
समूहले आज दिउँसो मतदातासंग अन्तरक्रियाको लागि एलिस ब्याड.क्वेटमा लञ्च मिटिड. पनि आयोजना गर्दैछ ।




















