Prakash Adhikari March 29, 2022

 

काठमाडौं, १५ चैत्र । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभर ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने देखिएको छ ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी हुन चाहने दलहरुलाई आयोगमा दर्ता हुन फागुन ४ गते आह्वान गरेको थियो ।

आयोगले दल दर्ता गर्न १५ फागुनसम्मको म्याद दिइएको थियो।

दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र सङ्क्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाउनुपर्नेछ। यससँगै पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण उल्लेख गर्नुपर्ने प्रावधान थियो।

आयोगले निवेदनसँगै केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी र सदस्य सङ्ख्या पनि खुलाउन भनेको छ। दल दर्ताका लागि आयोगले तीन वर्षको लेखा परीक्षण प्रतिवेदन पनि बुझाउन पर्ने प्रावधान राखेको थियो।

आयोगमा दल दर्ता गर्दा यस सम्बन्धी केन्द्रीय समितिको निर्णय, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमूना पनि सामेल गर्नुपर्ने बताइएको थियो ।

आयोगले सुरुमा राष्ट्रिय मान्यताप्राप्त ६ दललाई मात्र दलको चुनाव चिन्ह दिने निर्णय गरेको थियो । राष्ट्रिय मान्यता नपाएका दलहरुले आयोगले दिएको चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारको जस्तो हैसियतमा लड्न पर्ने भएकोले यसको विरोध गरेपछि आयोग सबै राजनीतिक दलका उम्मेदवारलाई उनीहरुको पार्टीले दल दर्ता गर्दा प्रयोगमा ल्याएको चुनाव चिन्ह दिन सहमत भएको हो ।

७९ दलले चुनाव लड्ने

सोमबार आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशभर ७९ राजनीतिक दलले चुनाव लड्न आयोगमा निवेदन दिएको बताउनुभयो ।

उहाँले काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । राष्ट्रिय छ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँचरपाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।

आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको रुपमा स्थापित भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनमा ताप्लेजुङमा ९, पाँचथरमा ८, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने भएका छन् ।

यसैगरी, दोलखा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३, नवलपरासी ९पूर्व० १६, नवरपरासी ९पश्चिमं० २१, रुपन्देही ३२, कपिलवस्तु २१ र पाल्पा नौ दलले निर्वाचनमा भाग लिँदै छन् ।

अर्घाखाँची ११, गुल्मी ११, रुकुम (पूर्व)मा ७, रोल्पा ७, प्यूठानमा९, दाङ २१, बाँके २३, बर्दिया २०, रुकुम (पश्चिम) ७, सल्यान ७, डोल्पा ५, जुम्ला ८, मुगु ९, हुम्ला ९, कालिकोट १४, जाजरकोट ७, दैलेख ८, सुर्खेत १९, बाजुरा ९, बझाङ ७, डोटी ९, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठान पाउने भएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ६५ मतदान केन्द्र र ११ हजार ९ सय ६६ मतदानस्थल कायम गरेको जनाएको छ ।
त्यस्तै, निर्वाचन प्रयोजनाका लागि यही चैत १५ गतेदेखि कल सेन्टर ९११०२० प्रयोगमा आउने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

जनक शिक्षाको प्रेसमा मतपत्र छपाई

निर्वाचनमा मतपत्र जनक शिक्षा सामाग्री केन्द्रबाट छपाइ गर्ने निर्णय भएको छ । सो निर्णय बमोजिम केन्द्रलाई जनशक्ति, छपाइ र छपाइ मेसिन लगायतका पूर्वधार तयारी अवस्थामा राख्न निर्देशन दिइएको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।

पर्यवेक्षणका लागि आह्वान

स्थानीय तहको निर्वाचनमा पर्यवेक्षणमा भाग लिन ईच्छुक संस्थालाई निवेदनका लागि पनि आव्हान गरिएको आयोगले जनाएको छ । राष्ट्रिय संस्थाहरुले मात्रै पर्यवेक्षणमा भाग लिन पाउनेछ पनि आयोगले बताएको छ ।

Share Now

Leave a comment.