Prakash Adhikari March 29, 2022

काठमाडौं, १५ चैत्र । वर्तमान राजनीतिक व्यवस्था नै परिवर्तन गर्न हतियार उठाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएको छ।

सो पार्टीले आफ्नो प्रभाव रहेको क्षेत्रमा पार्टीका उम्मेदवार उठाउने र जित्न नसक्ने ठाउँमा जित्नसक्ने अर्को कुनै कम्युनिष्ट पार्टीलाई सघाउने नीति लिएको छ

‘हाम्रो पार्टीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ,’ सो पार्टीका एक नेताले सञ्चार माध्यमलाई भनेका छन्, ‘एमसीसी, राष्ट्रघातविरुद्ध उभिने पार्टीसँग मिलेर उम्मेदवारी दिन्छौँ। नेकपाको नाममा सक्रियतापूर्वक भाग नलिने, तर सम्भव भएका ठाउँमा उम्मेदवारी दिन पार्टीले अनुमति दिएको छ।’

नेकपाले नेपाली कांग्रेस र राप्रपाबाहेकका दलको चुनाव चिन्ह नै प्रयोग गरेर उम्मेदवारी दिने बाटो पनि खुला गरिदिएको बताइन्छ

यही चैत ४ देखि १४ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राखेको ‘चुनावलाई उपयोग गर्ने’ प्रस्तावलाई परिमार्जन गर्दै पार्टीले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको थियो ।

विप्लव नेकपाले रोल्पा, कालिकोट, कपिलवस्तु, प्युठान र नेकपाको प्रभाव क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमत संग्रहनिम्ति माहोल बनाउन गाउँगाउँमा भ्रष्टाचारविरोधी अभियन्ता, एमसीसीविरोधी नेता, राष्ट्रवादी नेताहरुलाई चुनावमा सहयोग गर्ने निर्णयमा पार्टी पुगेको जानकारी दिनुभएको छ ।
उम्मेदवारी दिनुअघि सो पार्टीले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, विश्वभक्त दुलाल नेतृत्वको पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ६ दलीय मोर्चासँग छलफल गर्ने भएको छ।

चैत ४ गतेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले राख्नुभएको चुनावलाई उपयोग गरेर जाने प्रस्तावसहितको राजनीतिक प्रतिवेदनमा बहुमतको असहमति प्रकट भएको थियो । ७० जना केन्द्रीय सदस्यहरुमध्ये अधिकांशले चुनाव बहिष्कार गर्नुपर्ने, संसदीय व्यवस्थामा फस्न नहुने धारणा राखेपछि अल्पमतमा परे पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केही केन्द्रीय सदस्यहरु पनि चुनाव उपयोग गरेर जानुपर्ने पक्षमा उभिएपछि सचिवालयको बैठक बसेको थियो।

कपिलवस्तुको शिवगढीमा सचिवालय बैठक बसेर नेताहरुले उठाएका विषयवस्तुमाथि थप छलफल गरि ११ दिनपछि राजनीतिक प्रतिवेदनलाई परिमार्जन गरेर पारित गरिएको हो।

नेकपाले दल निर्वाचन आयोगमा दर्ता नभएकोले सिधै चुनावमा सहभागी हुने प्रस्तावलाई परिमार्जन गरेर स्वतन्त्र उम्मेदवारी दिने बाटो रोजेको हो।

नेकपामा महासचिव विप्लव, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर रहेको केन्द्रीय सचिवालय छ।

२०७३ मा मोहन वैद्यसँग विभाजित भएर नेकपा गठन गर्नुभएका नेत्रविक्रम चन्द(विप्लव)ले २०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचन बहिष्कार गरेर हतियार उठाउनुभएको थियो। तर ओली सरकारकै पालामा हतियार बिसाउने संझौता पनि भएको थियो ।

Share Now

Leave a comment.