काठमाडौं, १५ चैत्र । शिक्षा सेवा आयोगले स्थायी शिक्षक भर्नाका लागि गरेको खुला प्रतिस्पर्धाको विज्ञापन अन्तरगत आजबाट परीक्षा सुरु भएको छ ।
आयोगले १७ हजार २ सय बढी दरबन्दीमा स्थायी शिक्षक नियुक्तिका लागि प्रक्रिया सुरु गरेको हो ।
आयोगले प्रा.वि,नि.मा.वि र मा.वि. तहमा पदपूर्तिका लागि परीक्षा लिन लागेको हो । परीक्षा सकिएर उत्तरपुस्तिका जाँच गर नतिजा प्रकाशन गरी नियुक्ति दिन करिब एक बर्ष लाग्ने अनुमान गरिएको छ ।
आज पहिलो दिन मावि तहका शिक्षकको परीक्षा सुरु भएको छ । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ ।
शिक्षक सेवा आयोगले माविमा १ हजार ५ सय ४७, निमाविमा २ हजार ५ सय ९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो ।
शिक्षक सेवामा परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब ५ वर्षपछि सञ्चालन हुन लागेको शिक्षक सेवा आयोगको परीक्षाका लागि सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ ।


















