काठमाडौं, १६ चैत १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनलाई बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को सम्बन्ध सूत्रको रुपमा विकसित गर्न आग्रह गर्नुभएको छ ।
श्री लंकोको राजधानी कोलम्बोमा आयोजना भैरहेको बिमस्टेकको पाँचौं सम्मेलनलाई काठमाडौंबाट भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।
‘हामीले बुद्धदर्शन (धर्म)लाई बलियो समन्वयात्मक सूत्रको रुपमा प्रर्वद्धन गर्नु आवश्यक छ ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
उहाँले गौतम बुद्धको जन्मभूमि नेपालमा गौतम बुद्ध सर्किट निर्माण गरेर अग्रगामी र एकीकृत बिस्टेकलाई बनाउन सकिने धारणा राख्नुहुँदै भन्नुभयो ।
प्रधानमन्त्री देउवाले यस क्षेत्रको दिगो विकास र शान्तिको लागि विम्स्टेकका सरकारका साथै निजी क्षेत्रको साझेदारीको आवश्यकतामा पनि जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले सदस्य राष्ट्रहरुको बीचमा हुने एकआपसको सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा राख्नुभयो ।
प्रधानमन्त्री देउवाले सबै सदस्य राष्ट्रहरुले दिगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले बिमस्टेकलाई नयाँ प्रतिबद्धतासहित नयाँ जीवन दिनका लागि सबै सदस्य राष्ट्रहरुले यस क्षेत्रीय संगठनको विकासलाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बिमस्टेक संगठनलाई क्षेत्रीय विकासको माध्यमका रुपमा विकास गर्न यसमा बनेका सहमतिहरु कार्यान्वयन गर्न र नयाँ विकास अवधारणा तथा परियोजनाहरु लागू गर्न नेपाल सदैव प्रतिबद्ध रहेको पनि बताउनुभयो।


















