Prakash Adhikari March 30, 2022

 

काठमाडौं, १६ चैत्र । ‘ग्लोबल मनी वीक २०२२’ को अवसर पारेर क वर्गको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको ।

यस अभियान अन्तरगत बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म ७ वटै प्रदेशका शाखा कार्यालयमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकका कुल २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

‘ग्लोबल मनी वीक’ वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।

किशोरकिशोरी तथा युवावर्गमा वित्तीय ज्ञान प्रदान गरेर उनीहरुको सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्दै आइएको बताइन्छ ।

मेगा बैंकले राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम तोकिएका वर्गलाई लक्षित गरी एक सातासम्म यो देशव्यापी कार्यक्रम सञ्चालन गरेको थियो ।

डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायत अन्य वित्तीय जानकारीका सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति लक्षितवर्गलाई अभिप्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको थियो ।

ग्लोबल मनी वीक २०२२ कै सन्दर्भमा आइतबार काठमाडौंमा आयोजना गरिएको र्यालीमा समेत बैंकले सहभागिता जनाएको थियो ।

Share Now

Leave a comment.