Prakash Adhikari March 31, 2022

 

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा दक्षिणी छिमेकी मित्रराष्ट्रको भ्रमणमा निस्कन लाग्नुभएको हो । पाँचौ पटक प्रधानमन्त्री भएपछिको उहाँको यो पहिलो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

, स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, कृषि मन्त्री महिन्द्र राय यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडासहित विभिन्न मन्त्रालयका सचिव र उच्च सरकारी पदाधिकारीहरु रहनुभएको छ ।

भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी र सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.