काठमाडौं, १७ चैत्र । नेपाली काँग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तहसम्म स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा बिहिबार बैठकले सो निर्णय गरेको हो ।
निर्वाचन परिचालन समिति हरेक तहका सभापतिको संयोजकत्वमा गठन हुनेछ ।
बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
साथै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने समेत बैठकमा निर्णय गरेको छ ।
बिहिबारको बैठकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतसहित केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन लगायतका नेताहरुले मन्तव्य राख्नु भएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


















