Prakash Adhikari April 3, 2022

नयाँदिल्ली(भारत), २० चैत्र । भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ।

दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिनुभयो।

देउवाले भन्नुभयो, “हामीले सीमाका सवालहरूमा छलफल गर्‍यौँ र मैले मोदीजीलाई त्यसलाई स्थापित दुईपक्षीय संयन्त्रहरूबाट हल गरौँ भनेर अनुरोध गरेँ।”

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा प्रेस सम्मेलनलाई संबोधन गर्नुभएको थियो।

भारतीय प्रधानमन्त्री मोदीले सीमाको विवादको बारेमा कुनै धारणा नराखे पनि अवाञ्छित तत्त्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताउनुभयो।

त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उहाँले जानकारी दिनुभयो।

प्रधानमन्त्री देउवाको भनाई
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीसँग मित्रवत र सार्थक छलफल भएको उल्लेख गर्दै भारतको आर्थिक रुपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको बताउनुभयो।

उहाँले चाँदनी दोधारामा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको निर्माण र नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण सम्पन्न गर्ने र भैरहवामा त्यस्तो जाँच चौकी निर्माण अघि बढाउने बारेमा छलफल भएको जानकारी दिनुभयो।

दुवै पक्ष सडक र रेल जस्ता सम्पर्क सञ्जाल सम्बन्धी परियोजनाहरूमा थप प्रगति हुनेमा विश्वस्त रहेको उहाँको भनाइ छ।

नेपालले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरहुँदै हवाई रुट उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिदैँ प्रधानमन्त्री देउवाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि पनि सहयोग गर्न अनुरोध गरिएको जानकारी उहाँले दिनुभएको छ।

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने सवारी गुड्ने पुलको निर्माण र नेपालमा मल निर्यात गर्ने सम्बन्धी केही समय पहिले भएको समझदारीको कार्यान्वयनबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ।

अन्तर्देशीय ऊर्जा व्यापार नेपालको प्राथमिकतामा रहेको भन्दै दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने भिजन स्टेटमेन्ट तयार गर्ने भनी भएको सहमतिबाट आफू प्रशन्न भएको देउवाले बताउनुभयो।

दुवै प्रधानमन्त्रीको भेटवार्तापछि भारतको रुपे कार्डलाई नेपालमा पनि प्रयोगमा ल्याउने निर्णय गरिएको थियो।

नेपालले भारतलाई जीपीकोइराला श्वास प्रश्वास रोग सम्बन्धी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न सघाउन अनुरोध गरेको छ।

प्रधानमन्त्री देउवाले आफूले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिदैँ दुवै देशबीच निरन्तर रुपमा भ्रमणको आदानप्रदान भइरहनुपर्ने बताउनुभएको छ।

साथै उहाँले कोरोनाभाइरसको महामारीसँग जुझ्न भारतले नेपाललाई उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिनुभयो।

मोदीको भनाई

देउवालाई भारतको ुपुरानो मित्रु भन्नुभएका भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्रीसँग आपसी सहयोगका विभिन्न क्षेत्र, विभिन्न परियोजनामा भएको प्रगति र भविष्यको रुपरेखाका बारेमा पनि छलफल गरेको बताउनुभयो।

मोदीले भन्नुभयो, “हामी दुवै सहमत छौँ कि हामीले ऊर्जा क्षेत्रमा सहयोगको अवसरबाट पूरै लाभ उठाउनुपर्छ।”

उहाँले भारतले नेपाललाई सुख दुखको साथीका रूपमा हेरेको भन्दै नेपालप्रति आफ्नो मुलुकले सधैँ आत्मीयता प्रेरित भावना राख्ने बताउनुभयो।

उहाँले नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयलाई दुवै देशले उच्च प्राथमिकता दिने समझदारी गरेको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने सहमति भएको बताउनुभयो।

लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम तेज गतिमा अघि बढ्ने भन्दै उहाँले उक्त परियोजनाले दुई देशको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने बताउनुभयो।

नेपालसँग विद्युत् आयात गर्ने कैयौँ अरू प्रस्तावलाई स्वीकृत गर्न लागिएको उहाँले जानकारी दिनुभयो।

नेपाली पक्षसँग जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको भागिदारी बढाउने विषयमा पनि छलफल भएको भन्दै मोदीले नेपालले सौर्य ऊर्जासम्बन्धी अलायन्समा जोडिने गरी एउटा सम्झौतामा हस्ताक्षर गरेकोमा प्रसन्नता जनाउनुभयो।

दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका अधिकारीहरूले रेलवेका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने, पेट्रोलियम पदार्थको आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल निगमबीचको प्राविधिक सहकार्य अभिवृद्धि गर्ने विषयका सम्झौतामा हस्ताक्षर गरिएका थिए।

दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ।

दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा अन्तरदेशीय जयनगर-कुर्था रेल सेवा उद्घाटन भर्च्युअल माध्यमबाट गर्नुभएको थियो।

कार्यक्रममा नेपाल र भारतबीच भएका विकास आयोजनाहरूबारे चर्चा गरिएको थियो।

त्यससँगै पूर्वधार तयार भएर पनि सञ्चालन नभइ बसेको उक्त रेलले सेवा उपलब्ध गराउन थालेको बताइएको छ।

पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो।

नेपाल भारत

नेपाल भारत

यसअघिको आफ्नो चार वटा कार्यकालमा पनि देउवाले प्रधानमन्त्रीका रूपमा हरेक पटक दिल्लीको भ्रमण गर्नुभएको थियो।

देउवालाई विशेष मित्रका रूपमा स्वागत
नयाँ दिल्लीले “विशेष मित्रलाई न्यानो स्वागत” गरिएको भन्दै देउवाको यो भ्रमणका बारेमा एउटा ट्विट गरेको थियो।

नेपाल भारत
प्रधानमन्त्री देउवा र उनी नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले शुक्रवार साँझ भारतीय सत्तारूढ दलको पार्टी कार्यालयको भ्रमण गरेका थिए।

त्यो कूटनीतिक मर्यादा विपरीत भएको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।

तर नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत भन्नुहुन्छ, “भारतीय जनता पार्टी त्यहाँको सत्तारूढ पार्टी हो। उहाँहरूले हामीलाई निम्तो गर्नुभयो। त्यहाँ जाँदा केही बिग्रँदैन।”

यसअघि नेपाली कांग्रेसकै कतिपय नेताहरूले कतिपय वामपन्थी दलहरूले चिनियाँ कम्युनिस्ट पार्टीसँग अघि बढाएको वैचारिक आदानप्रदानप्रति प्रश्न उठाउने गरेका थिए।

शुक्रवार भारतीय विदेशमन्त्री एस जय शङ्करले प्रधानमन्त्री देउवालाई भेट्नुभएको थियो।

भारतीय विदेशमन्त्री एस जय शङ्करले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, “भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुसी लागेको छ। यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु।”

राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलको भ्रमण पनि गर्नुभएको प्रधानमन्त्री देउवालाई भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले शनिवार भेट्नुभएको थियो।

अर्थपूर्ण यात्रा
कालापानी, लिपुलेक अनि लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो।

भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कूटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन्।

त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ।

बीबीसीसँग कुरा गर्दै एक जना नेपाल विज्ञ निहार नायकले प्रधानमन्त्री देउवाको यो भ्रमणमा दुवै देशका अधिकारीहरूले सीमा सम्बन्धी विवादहरूको हल खोज्न दुवै देशका सम्बन्धित निकायहरूलाई निर्देशन दिनसक्ने बताउनुभएको थियो।

अघिल्लो महिना मात्रै नेपालले हालसम्मकै ठूलो विदेशी सहयोग स्वीकार गर्ने क्रममा ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गरेको थियो।

नेपालमा दलहरूबीच विवाद निम्त्याएको उक्त सम्झौतालाई लिएर अमेरिका र चीन एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका थिए।

एमसीसी सम्झौता अनुमोदन भएको केही सातापछि नयाँ दिल्लीहुँदै काठमाडौंको भ्रमण गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा कुनै पनि किसिमको वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने धारणा राख्नुभएको थियो।

नेपालमा भूराजनीतिक चासोहरू वृद्धि भइरहेको समयमा भइरहेको प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ।(बीबीसीबाट)

 

Share Now

Leave a comment.