काठमाडौं, २३ चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।
जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । साथै डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम पुर्याएको छ । साथै एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर १६०० रुपैयाँ कायम गरिएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि निगमलाई मासिक ९ अर्ब २७ करोड घाटा हुने निगमले जनाएका छ ।
निगमले आफ्नो कारोबारबाट इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने रकम जुटाउन कठिन भएकोले मूल्य स्थिरीकरण कोषको बैठकले ,निगमलाई ४ अर्ब २० करोड रुपैया दिने निर्णय गरेको छ ।
निगमले अझै पनि नेपालको सीमावर्ति क्षेत्रमा पेट्रोलियमको मूल्य भारतभन्दा सस्तो भएको जनाएको छ । निगमका अनुसार भारतको सीमावर्ति रक्सौलमा भन्दा नेपालको बीरगञ्जमा पेट्रोल २७ रुपैय ७६पैसा , डिजेल २० रुपैया ३२ पैसा, हवाई इन्धन आन्तरिक ३१ रुपैया ९४ पैसा र ग्यास प्रति सिलिण्डर ५ रुपैया ६५ पैसा सस्तो रहेको छ ।



















