Prakash Adhikari April 6, 2022

काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमणपश्चात् आइतबार साँझ काठमाडौं आइपुग्नुभएको छ ।

आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी पुग्नुभएको प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएको हो ।

उहाँलार्इ विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवासहितको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चैत १८ गते शुक्रबार औपचारिक भ्रमणका लागि भारत जानुभएको थियो ।

चैत १९ गते शनिबार उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय हित र आपसी चासोको बारेमा भेटवार्ता गर्नुभयो । भेटका अवसरमा उहाँले नेपाल भारत सीमा समस्या समाधान, नेपाललाई भारत लगायत अन्य मुुलुकसंग हवाई सम्पर्क कायम गर्न जनकपुर, भैरहवा र महेन्द्रनगरमाथिको आकाशबाट उडान गर्ने अनुमतिसहितको हवाई मार्ग खुलाउन माग गर्नुका साथै दुई देशबीच आर्थिक  र सामाजिक क्षेत्रका विकासको कुरा उठाउनुभएको थियो ।

दुई प्रधानमन्त्रीको भेटपछि उहाँहरुको नेतृत्व रहेको उच्चस्तरीय प्रतिनिधि मण्डलको बैठक भएको छ । उक्त बैठकमा नेपाल र भारतका बीचमा चार संझौता भएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार बिहान भारतीय उद्योगपतिहरुको संस्था कन्फिडरेसन अफ इण्डियन इण्ड्रष्ट्रिज(सीआईआई)को विशेष शत्रलाई सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्रीले शनिवार नै राजघाट पुगेर माहात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

शनिवार नै दुवै प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको सोलु करिडर प्रशारण लाईन र कुर्था जनकपुर जयनगर रेल्वेको दिल्लीबाट भर्चुअल उद्घाटन गर्नुभयो । दुवै प्रधानमन्त्रीले भारतको डिजिटल कार्ड रुपेको प्रचलनका संयुक्त उद्घाटन पनि गर्नुभयो ।

दुई प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध र प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा आयोजित पत्रकार सम्मेलनलाई संयुक्त रुपमा सम्बोधन पनि गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालका तर्फबाट मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा आज भारतको प्रसिद्ध धार्मिक शहर बनारस पनि पुग्नुभयो । त्यहाँ उहाँले नेपालले बनाउने बृद्धाआश्रमको शिलान्यास गर्नुभयो ।

प्रधानमन्त्री देउवा आज नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतबाट स्वदेश फर्कनुभयो ।

प्रधानमन्त्रीको ५० सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी हुनुहुन्थ्यो ।

बनारसमा ३५ कोठे वृद्धाश्रमको शिलान्यास 

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार धार्मिक नगरी बनारसस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गर्नुभएको छ ।

उक्त अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि उपस्थिति रहेको थियो।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति १ करोड विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ।

नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्।

 

भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आइतबार दिवाभोजको आयोजना गर्नुभयो।

 

त्यसअघि उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

 

बनारसमा व्यस्त  प्रधानमन्त्री

भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार वाराणसी पुग्नुभयो।

आइतबार लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल बनारस उत्रिदा प्रधानमन्त्री देउवा र उहाँकी पत्नी डा. आरजु राणालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभयो।

वाणारसीमा प्रधानमन्त्री देउवाले काल भैरव मन्दिरमा पूजापाठ गर्नुभएको छ।

 

यसलाई शिवको सबैभन्दा पुरानो मन्दिर मानिन्छ। प्रधानमन्त्री देउवाले काशीको विश्वनाथ मन्दिर र गंगा नदीमा पनि पुग्नुभयो।

 

प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नुभएको छ।

 

 

Share Now

Leave a comment.