काठमाडौं, २३ चैत्र । सत्ता गबन्धनमा रहेका राजनीतिक दलहरुबीच स्थानीय निर्वाचनमा तालमेल गर्नका लागि गठन गरिएको निर्वाचन तयारी तथा अनुगमन समितिको बुधबार बसेको बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक चुनावी तालमेलको मोडालिटीबारे सामान्य छलफल गर्दै सकिएको जानकारी समिति सदस्य डा.बेदुराम भुसालले जानकारी दिनुभएको छ।
मंसत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको गलबार बसेको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो।
बुधबार बसेको समितिको पहिलो बैठकमा सत्तामा सहभागी दलको चुनावी तालमेलको विषयमा औपचारिक छलफल सुरु भएको डा. भुसालले प्रष्ट पार्नुभयो।
‘पहिलो बैठकमा सत्तारुढ दलबीच हुने चुनावी तालमेलको रणनीति कस्तो बनाउने भन्ने विषयमा औपचारिक रुपमा छलफल भएको छ’, डा. भुसालले भन्नुभयो, ‘गठबन्धनमा सहभागी दललाई कुन मोडालिटीको तालमेलमा सहभागी गराउन सकिन्छ भनेर हामीले आज छलफल मात्र सुरु गरेका छौँ।’
नेकपा (एकीकृत समाजवादी)का महासचिवस डा. भुसालले चुनावी तालमेलका लागि थप गृहकार्य गरेर अर्को बैठक २७ गते बस्ने निर्णय भएको जानकारी दिनुभएको ।
समितिको अर्को बैठक चैत २७ गते दिउँसो ४ बजे बस्ने निर्णय भएको छ ।
काँग्रेस वरिष्ठ नेता पौडेल नेतृत्वमा बनेको समितिमा काँग्रेस महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित गठबन्धनमा सहभागी दलका शीर्ष १० नेता सदस्य हुनुहुन्छ।
समितिमा नेकपा (माओवादी केन्द्र(बाट देवप्रसाद गुरुङ र वर्षमान पुन सदस्य हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी(बाट महासचिव डा. भुसाल, उपमहासचिव डा. विजय पौडेल, जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र र जनमोर्चाबाट हिमलाल पुरी सदस्य हुनुहुन्छ।
समितिमा प्रतिनिधित्व गर्नुहुने नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले सबै जिल्लाबाट त्यहाँको बस्तुगत अबस्थाको प्रतिवेदन आएपछि सिट बाँडफाँड सहित सबै विषयमा छलफल गर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँचै दल एक भएर जाने उहाँको दावी रहेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले समितिलाई वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा हुने गठबन्धन र तालमेलको तयारी तथा अनुगमनको जिम्मेवारी दिएको छ।


















