Prakash Adhikari March 13, 2018

काठमाडौं, २९ फाल्गुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले विश्वकप छनौट खेलको प्रतियोगितामा उत्कृष्ट ३ एसोसिएट टीमलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय टीमको मान्यता दिने घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल टीमहरु नेपाल, हंगकंग र पपुवा न्यु गिनीका बीच सोको लागि प्रतियोगिता हुनेछ ।

प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ।

नेपाल, पपुवा न्यु गिनी र हंगकंग मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ।

जित र हारको असर
नेपाल र पपुवा न्यु गिनी तथा नेदरल्याण्ड र हंगकंगबीच मार्च १५मा खेल हुनेछ ।

समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको मार्च १५ मा सामना गर्नेछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नेपर्नेछ।

पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ।

हंगकंग र नेदरल्याण्ड बीच मार्च १५ मै प्ले(अफको अर्को खेल हुनेछ जसमा यदी हंगकंग पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ।

किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हंगकंग बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।

यदी नेपालले पपुवा न्यु गिनीसंगको प्ले(अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ। नेपाल हारे पपुवा न्यु गिनीले सातौ स्थानको लागि नेदरल्याण्ड र हंगकंगसंगको बिजेता टिमसंग खेल्नेछ। नेदरल्याण्डले हंगकंगलाई पराजित गर्ने र नेपालले पपुवा न्यु गिनीसंग हारे पपुवा न्यु गिनीले एकदिवसीय मान्यता पाउनेछ।

एकदिवसीय मान्यताको लाभ

एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ (बार्षिक ७/८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ।

साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।

Share Now

Leave a comment.