काठमाडौं,२९ फागुन । आगामी पाँच वर्षका लागि नेपालले आज राष्ट्रपतिको निर्वाचन गर्दैछ ।
नेपालको सर्वोच्च पद राष्ट्रपति बनेर संविधान,देश र जनताको संरक्षक बन्नका लागि नेकपा एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् ।
राष्ट्रपतिको निर्वाचन मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेभएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरु मतदाता रहने संबैधानिक व्यवस्था छ ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो तथा प्रदेशसभाका सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ।
आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि आउन अनुरोध गरेको छ ।
निर्वाचनलाई मर्यादित बनाउन र निर्वाचनमा खसेका मतहरु भरसक बदर नहुने गरी आफ्ना मतदातालाई प्रशिक्षित गराउन अनुरोध गर्दै निर्वाचन आयोगले केही दिनपूर्व राजनीतिक दलहरुसंग छलफल पनि गरेको थियो ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रियसभामा रराष्ट्रपतिबाट मनोनित डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेल राईले भने मतदान गर्न नपाउने भएका छन् । उनीहरुको शपथ ग्रहणपूर्व अन्तिम मतदाता नामावली प्रकाशित भएकाले तीन जना सदस्यहरुले मतदानमा भाग लिन नपाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।्र
राष्टिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभाका सदस्य निर्वाचित भएका रेशम चौधरीको शपथग्रहण नभएकोले उनले पनि मतदानमा सहभागी हुने मौका पाउने छैनन भने प्रदेश सभामा निर्वाचित भएका स्वतन्त्र सांसद राजीव गुरुड. उर्फ दीपक मनाडे.ले पनि सहभागी बन्न पाउने छैनन् । एमालेको समर्थनमा मनाड.बाट निर्वाचन जितेका उनी अदालतबाट फौजदारी अभियोगमा दण्डित भई सजाँय भुक्तान नगरी फरार रहेको प्रमाणित भएकोले उनले पनि शपथ ग्रहण गर्न पाएका छैनन् ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० मतदाता कायम गरिएको छ ।
प्रदेशको कुरुवा प्रदेश प्रमुख
सातैवट प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु सहित सांसदहरु राष्ट्रपतिको निर्वाचनको लागि राजधानी आएकोले अहिले प्रदेशका अस्थायी केन्द्रहरु सुनसान भएका छन् । ३ नं प्रदेश बाहेकका अन्य प्रदेशहरु त कार्यपालिका र व्यवस्थापिकाका सदस्यबिहिन अवस्थामा छन् ।
प्रदेशको अस्थायी केन्द्र र सिंगो प्रदेशको जिम्मा अहिले आलंकारिक भूमिकामा रहेका प्रदेश प्रमुखहरुको भरमा छ ।