Prakash Adhikari April 22, 2022

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ९ बैशाख । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको छ।

बाइडनका अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन्।

उक्त सहायता ‘सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा’ पठाइने बाइडनले बताउनुभएको छ।

यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिनुभएको छ।

ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले ‘कहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो भाला (ज्याभेलिन)बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई (युक्रेनमा) पठाउँदैछौ’ भन्नुभएको थियो।

युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए।

गत फेब्रुअरी २४ मा रुसी हमला भएयता तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइ सकिएको छ।

डोनबासमा कब्जा

यसैबीच क्रेम्लिनले पूर्वी युक्रेनमा आफ्नो आक्रमण जारी राख्दै डोनबास क्षेत्रका ४० भन्दा बढी गाउँहरू कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्।

मारिऊपोलको दृश्यतर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रणनीतिक सहर मारिऊपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गर्नुभएको छ ।

 

उहाँले त्यहाँ अझै युद्ध जारी रहेको र युक्रेनी प्रतिरोधलाई मद्दत गर्न कूटनीतिक र रणनीतिक उपायहरूमा विचार गरिरहेको बताउनुभएको छ।

रुसले उक्त सहर कब्जा गरेको बताएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले पनि मारिऊपोल पूर्ण रूपमा रुसी नियन्त्रणमा गएको भनिएको कुरा ‘शंकास्पद’रहेको बताउनुभएको छ।

मारिऊपोल सिटी काउन्सिलले प्रकाशित गरेको एउटा तस्बिरमा रुसी सेनाले उक्त सहरको सामूहिक चिहानमा कैयौँ शवहरू पुरिरहेको जस्तो देखिएको छ।

तर बीबीसीले त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन र रुसले पनि त्यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अर्थोडक्स इस्टरका बेला युद्धविरामका लागि गरिएको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि बताएका छन्। आगामी आइतवार अर्थोडक्स क्रिस्चियन समुदायको इस्टर परेको छ।

युक्रेनी नेताको उक्त दाबीबारे हालसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन।

Share Now

Leave a comment.