सानेपा(ललितपुर), ८ बैशाख । नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख ०२, २०७९ को बैठकको निर्णय अनुसार केन्द्रीय परिचालन समिति अन्तर्गत गठित उपसमितिहरुमा संयोजक मनोनयन गर्नु भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति गठन भएको छ । त्यस्तै केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गरिएको छ ।
केन्द्रीय सदस्य प्रदिप पौडेलको संयोजकत्वमा अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमिति गठन गरिएको छ।
नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा केन्द्रीय सदस्य मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिको संयोजक तोकेको छ भने केन्द्रीय सदस्य उदय शम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक ।
त्यसै गरी केन्द्रीय सदस्य जीतजंग वस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक तोकिएको छ भने केन्द्रीय सदस्य रामहरी खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक तोकिएको छ ।


















