Prakash Adhikari April 22, 2022

काठमाडौं, ९ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७ सय ५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताउनुभयो।

योसँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने उहाँले स्पष्ट पार्नुभयो।

सबै निर्वाचन कार्यालयहरूले आयोगले दिएको कार्यतालिका अनुसार काम सुरू गर्ने पनि उहाँले बताउनुभयो।

आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरू पूरा गरिसकेको उल्लेख गर्नुभयो।

,‘आजबाट हाम्रो सबै ७ सय ५३ स्थानीय तहमा निर्वाचन कार्यालयहरू खुलिसकेका छन्। यसको तात्पर्य सबै निर्वाचनको माहोलमा सहभागी हुनुहुने मतदाता, उम्मेदवार र त्यसलाई सहयोग गर्ने समुच्च समुदाय आजबाट निर्वाचनमा होमियो। कुनै हालतमा अब किन्तु, परन्तु छैन भन्नेकुरो छ्याङ्गै बुझ्नुभएको छ।’ उहाँले भन्नुभयो ।

निर्वाचन आयोगले दिएको कार्यतालिका अनुसार नै ती निर्वाचन कार्यालयले काम सुरू गरेको उहाँले जानकारी दिनुभयो।

‘ती निर्वाचन कार्यालयहरू आफूले गर्नुपर्ने कार्यतालिका जुन निर्वाचन आयोगले दिएको छ त्यो कार्यतालिका अनुसार उहाँहरूले काम सुरू गरिसक्नु भएको छ। यता निर्वाचनका व्यवस्थापनका कामहरू पनि लगभग हामीले सकिसक्यौं। सामान खरिद गर्ने, तत् तत् ठाउँमा पुर्‍याउने लगायतका विविध व्यवस्थापनका कामहरू सकिए,’ उहाँले थप्नुभयो।

आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताउनुभयो।

सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

निर्वाचन सामग्री सबै स्थानीय तहहरूमा समयमै पुर्‍याउने उउहाँले बताउनुभयो।

सामग्री अभावका कारण निर्वाचन नरोकिने भण्डारीले प्रष्ट पार्नुभयो।

उहाँले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गर्नुभयो।

Share Now

Leave a comment.