Prakash Adhikari April 28, 2022

काठमाडौं, १५ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानलाई पनि राति १२ बजेसम्म सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले त्यसको विरोधमा उडान नै बन्न गर्ने विरोध कार्यक्रम तय गरेका छन् ।

प्राधिरकणले भोलि (शुक्रबार)देखि नै राति ८ बजेपछि १२ बजेसम्म उडान गर्ने गरी आन्तरिक हवाई सेवाको उडानको तालिका राखेकोले सबै आन्तरिक उडानका सबै निजी कम्पनीले उडान बन्द गर्ने चेतावनी दिएका छन् ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताउनुभएको छ।

अहिले रातको ८ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको कँडेलको भनाइ छ ।

प्राधिकरणका महानिर्देशक प्रदीपराज अधिकारीले वैशाख १५ गतेदेखि सम्भव भएसम्मका सबै विमानस्थलमा राति १२ बजेसम्म हवाई उडान गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।तर प्राधिकरणले १६ गतेदेखि आन्तरिक उडान पनि राती १२ बजेसम्म गर्ने पत्राचार कम्पनीहरुलाई पठाएपछि कम्पनीहरु यसको विरुद्धमा उत्रिएका हुन ।

अहिले कतिपय विमानस्थलमा रातिमा उडान गर्न मिल्दैन तर सम्भव भएसम्मका सबै विमानस्थलमा वैशाख १६ गतेदेखि उडान शुरु गरिने ंप्राधिकरणका उच्च पदस्थ अधिकारीहरुको भनाइ छ ।

अहिले हवाई उडानमा यात्रुको चाप अत्यन्तै बढिरहेकोले व्यवस्थापनका लागि पनि रात्रि उडान जरुरी भएको कर्मचारीको दावी छ ।

संघका अनुसार अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो ।

वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने निर्णय गरेका छन् ।

संघमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरु सदस्य छन् ।

Share Now

Leave a comment.