काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवम् नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको खेल सकिएको बताउनुभएको छ ।
काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै प्रवक्ता डा. महतले स्थापितको हार निश्चित भएको बताउनुभएको हो ।
‘स्थापित जी नोमिनेसन गरेर निस्किँदा मैले सुन्दै थिएँ, गेम इज ओभर रे । म भन्छु, उहाँको गेम इज ओभर । अब बागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ’, महतले भन्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र स्थापितलाई लक्षित गरेर उहाँले राजनीतिलाई मनोरञ्जनको साधन नबनाउन आग्रह गर्नुुभयो ।
उहाँले काठमाडौं महानगर कांग्रेसले जित्नु भनेको ५० वटा अरु नगरपालिका जिते बराबर हुने बताउनुभयो ।
सिर्जना सिंहलाई मत दिएर जिताउन आग्रह गर्दै कांग्रेस प्रवक्ता डा.महतले भन्नुभयो ‘अरुले कुरा गर्ने तर नेपाली कांग्रेसले काम गर्छन् । त्यसैले काम गर्ने पार्टीलाई निर्वाचित गर्ने समय आएको छ ।
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेद्वार स्थापितमाथि महिलामाथि यौन दुब्र्यबहार गरेको र महानगरपालिकाको प्रमुख हुँदा गरेको खर्च भुक्तानी नगरेको जस्ता आरोप लागेको छ ।
पीडितहरुले सञ्चारमाध्यममा सार्वजनिक रुपमा नै स्थापित विरुद्ध अभिव्यक्ति दिएका छन् ।


















