काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख नेपाली कांग्रेसको प्रतिनिधि नबन्दा जनताको हितमा काम गर्न निकै कठिनाई भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट काठमाडौं उपत्यकामा मेयरको उम्मेदवार बन्नुभएकी सिर्जना सिंहको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
‘काठमाडौंमा हामीले धेरै सांसद् भएर पनि काम गर्न सकेनौं । काठमाडौं महानगरपालिकाको मेयर हाम्रो मान्छे भएको भए पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौं,’ थापाले भन्नुभयो ।
काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै कांग्रेस महामन्त्री थापाले भन्नुभयो, ‘उहाँले कुनै नौला सपना देखाउनु भएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’
कांग्रेस महामन्त्री थापाले अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यसपटक सिर्जना सिंहलाई मतदान गर्न अपील गर्नुभयो ।
आफू पाँच वर्षमा स–साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको भन्दै थापाले भन्नुभयो, ‘हामी महानगरसँग सहकार्य गरेर स–साना काम गर्न आतुर छौं । त्यसका लागि पनि कांग्रेसका उम्मेदवारलाई भोट दिनै पर्छ । सिर्जना सिंहलाई मेयरमा जिताउनै पर्दछ ।’


















