काठमाडौं, १५ बैशाख । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार वाइडबडी ए–३३० जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
काठमाडौँ विमानस्थलबाट बेलुका ५ः१२ मा उडान भरेको निगमको वाइडबडी जहाज ५ः५५ मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो ।
२ सय ७४ सिट क्षमता भएको वाइडबडी ए–३३० जहाज काठमाडौंबाट २७ मिनेटमा भैरहवा पुगेको थियो।
परीक्षण उडान भएकाले विमानस्थलको एक फन्को मार्दा करिब ५० मिनेट आकाशमा उडान गरेको थियो।
क्याप्टेन श्रवण रिजालको नेतृत्वमा रहेको निगमका चालक दलका सदस्यहरुले वाइडबडीलाई भैरहवा लगेका हुन्।
करिब १६ हजार फिट माथिबाट उडान भरेको वाइडबडी गौतम बुद्व विमानस्थलमा एक फन्को मारेर अवतरण गरेको हो।
भैरहवामा अवतरण गरेसँगै यात्रुले ताली पिटेर खुसियाली व्यक्त गरेका थिए।
विमानमा चालकदलका सदस्यसहित २ सय ६० यात्रु सवार थिए । यसमा पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि पानीको फोहराले जहाजलाई स्वागत गरिएको थियो ।
तत्पश्चात् आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकका लागि ठूलो उपलब्धि भएको बताउनुभएको थियो ।
बाइड बडीको विमान अवतरण भएसंगै अब काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी खराबी, अतिविशिष्ट व्यक्तिको आवागमन र प्राविधिक गडबढीका कारणका जहाज अवतरण गर्न नसकी आकाशमा होल्ड गर्ने वा उडान मार्गमा होल्ड गर्ने तथा फर्काएर भारत वा चीनतर्फ लैजानुपर्ने अवस्थाबाट वायुसेवा अपरेटरहरुलाई मुक्ति मिलेको छ । भैरहवामा डाइभर्ट गरेर त्रिभुवन एअरपोर्ट खुलेपछि विमानहरुलाई सुरक्षित रुपमा ल्याउन सहज भएको छ ।
जहाज अवतरणको क्रममा रनवेको अन्तिम बिन्दुनजिक पुगेपछि जहाजलाई मोड्न केही कठिन भएको थियो । ह्यांगरले तानेर जहाज मोडेपछि पार्किड. वेमा ल्याएर यात्रुहरु उतारिएको थियो । प्राविधिकहरुले टेष्ट फ्लाइट भएकोले यो घटना सामान्य भएको जानकारी दिएका छन् ।


















