काठमाडौं, १६ बैशाख । नेपालका निजी बैंकहरुमा सबैभन्दा अब्बल मानिने नबिल बैंक नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रक्रियालाई अगाडी बढाउदै शाखा विस्तारमा पनि आक्रामक ढंगले लागेको छ ।
बैंकले बैशाख १५ गते बिहिबार एकै दिन १४ नयाँ शाखाबाट सेवा दिन थालेको छ ।
बैंकका नयाँ शाखाहरुको एकसाथ बिहिबार उद्घाटन भएको बैंकले जानकारी दिएको छ ।
बैंकले बिहीबार धुम्वाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थली डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्वाराही मालीगाउँ शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखाको उद्घाटन गर्नुभएको थियो।
त्यस्तै बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा थली डाँछी शाखा, बैंक सञ्चालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखाका उद्घाटन गर्नुभयो । बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गर्नुभएको थियो।
यसैगरी नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डितले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखाको उद्घाटन गर्नुभयो ।
यसैगरी नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखाको उद्घाटन गर्नुभयो ।
नबिल बैंकका प्रादेशिक प्रमुख – प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले संयुक्त रुपमा विराटनगरको पुष्पलाल चोक शाखाको उद्घाटन गर्नुभयो ।
यसैगरी नबिल बैंकका प्रमुख सञ्चालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंक, बीरगञ्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखाको उद्घाटन गर्नुभएको बैंकले जनाएको छ।
त्यस्तै नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्रप्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखाको उद्घाटन गर्नुभयो भने नबिल बैंकका अन्तराष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आदर्श बजगाई र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गर्नुभयो।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो।
उद्घाटन गरिएका शाखा कार्यालयहरुबाट बैंकका सेवाग्राही तथा ग्राहकहरुले बैंकले प्रदान गर्ने बैंकिङ्ग सुविधा लिन सक्ने नबिल बैंकले जनाएको छ।


















