सानेपा(ललितपुर), १८ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवम् नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले स्थानीय तहको सुक्ष्म स्तरबाट हेर्दा पनि प्रतिगमनविरुद्धको वर्तमान सत्तागठबन्धन र चुनावी तालमेल सही भएको बताउनुभएको छ ।
आइतबार नेपाली काग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
उहाँले तात्कालीन एमाले नेतृत्वको सरकारले संवैधानिक मर्यादा उल्लंघन गर्दै काम गरेकोले प्रतिगमनबाट मुलुकलाई जोगाउन पाँच राजनीतिक दलकाबीचमा गठबन्धन भएको पनि दावी गर्नुभयो ।
नेपाली नागरिकले झण्डै सात दशकको अनवरत संघर्षले ल्याएको लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको संघीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका बीचमा स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको उहाँले जिकिर गर्नुभयो ।

कांग्रेस प्रवक्ता डा. महतले देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको पनि बताउनुभयो ।
पार्टीलाई प्राप्त प्रारम्भिक तथ्यांक उल्लेख गर्दै उहाँले यस पटकको निर्वाचनमा नेपाली कांग्रेसका साडे ३० हजारभन्दा बढी पदमा उम्मेदवारी परेको पनि उल्लेख गर्नुभयो ।
काग्रेस प्रवक्ता डा. महतले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने नेपाली कांग्रेसका अधिकांश साथीहरुले उम्मेदवारी फिर्ता लिनुभएको दावी गर्नुभयो ।
उहाँले अटरी गरेर फिर्ता नलिनेहरुको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान बमोजिम स्वतःपार्टीबाट निष्किाशन हुने व्यवस्था क्रियाशील भएको बताउनुभयो ।
काग्रेस प्रवक्ता डा.महतले प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वारहरुको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिने साथीहरुको हकमा यो प्रावधान लागू नहुने पनि जानकारी दिनुभयो ।
काग्रेसको निर्वाचन अभियान
पार्र्टी प्रवक्ता डा. महतका अनुसार नेपाली कांग्रेसका सबै तहका पार्टी संरचना र पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरु पार्टीका आधिकारिक उम्मेदवारहरुको प्रचार–प्रसार अभियानमा जुटिरहेको अवस्था छ ।
कांग्रेसले निर्वाचन अभियानलाई मर्यादित,अनुशासित र सुव्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन केन्द्रीय समिति र मेरो संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ ।
पार्टीका महामन्त्री गगन थापाको संयोजकत्वमा गठित घोषणा–पत्र तयारी समितिले स्थानीय तहलाई अधिकार सम्पन्न,सक्षम,सबल,उत्तरदायी,नागरिकमुखी सेवाप्रवाह गर्न सक्ने बनाउने कार्यक्रमसहितको संकल्प तयार पारी सार्वजनिक गरिसकेको छ । यस सङ्कल्पले नेपाली कांग्रेसले निर्माण गर्न चाहेको समाजको तस्वीर प्रतिबिम्बित गरेको छ । समुन्नत नेपालको जग बसाउने कार्यक्रम ल्याएको छ ।
निर्वाचन अभियानलाई व्यवस्थित ढंगले परिचालन गर्न पार्टी केन्द्रीय कार्यालयमा प्रदेश डेस्क स्थापना भएको छ भने उपसभापति धनराज गुरुङ्को संयोजकत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन भएको छ ।
पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्नुहुने प्रदेश डेस्कमा सहमहामन्त्रीहरु प्रदेश प्रदेशको संयोजक रहनुभएको छ । प्रदेश नं १ को संयोजकमा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेश संयोजकमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, वाग्मती प्रदेश संयोजकमा सहमहामन्त्री फरमूल्लाह मंसुर, गण्डकी प्रदेश संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना”, लुम्विनी प्रदेश संयोजकमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेश संयोजकमा सहमहामन्त्री बद्री पाण्डे र सुदुरपश्चिम प्रदेश संयोजकमा सहमहामन्त्रीमा किशोरसिंह राठौर रहनुभएको छ ।
केन्द्रीय प्रचार–प्रसार समिति अन्तरगत सल्लाहकार समिति, युवा प्रचार नेटर्वक, सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति , विषयवस्तु उत्पादन उपसमिति,छापामाध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति,रेडियो समन्वय तथ प्रचार–प्रसार उपसमिति, टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति, अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति, प्रवास समन्वय प्रचार–प्रसार उपसमिति, नेपाली जनसम्पर्क समिति भारत स्थानीय तह निर्वाचन प्रचार–प्रसार उपसमिति, काठमाडौं–जिल्ला सम्पर्क प्रचार–प्रसार नेटवर्क, सांस्कृतिक समन्वय उपसमिति र सूचना संकलन तथा अनुगमन उपसमिति गठन गरी सक्रियताका साथ काम भैरहेको छ ।
निर्वाचन परिचालन समिति अन्तरगत भातृ संघ समन्वय एवं परिचालन उपसमिति, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति, अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमिति, शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति,नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति र निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गरी संबन्धित उपसमितिहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् ।
नेपाली कांग्रेसका सबै तहका संरचना अन्तरगत प्रचार–प्रसार र निर्वाचन परिचालन उपसमितिहरु गठन भएका छन् । भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि केन्द्रदेखि स्थानीय तहसम्म प्रचार–प्रसार र निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन अभियानलाई गति दिईरहेका छन् ।
पार्टीले प्रदेश स्तरमा आमसभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । घोषित कार्यक्रम अनुसार प्रदेश १ को मोरङमा वैशाख २१ गते, मधेश प्रदेशको धनुषामा वैशाख २२ गते र बागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते,गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा हुनेछन् ।
नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई अत्यन्त मर्यादित,संयमित र अनशासित ढंगले सञ्चालन गरिरहेको छ ।
कांग्रेसका प्रवक्ता डा. महतले प्रतिस्पर्धी राजनीतिक दलका नेताहरुले आचारसंहिताको ठाडो उल्लंघन गरी धज्जी उडाउदा समेत निर्वाचन आयोग मौन रहेको भन्दै आयोगको ध्यानाकर्षण गराउन चाहनुभएको छ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिका सयोजक रहनुभएका डा. महतले निर्वाचनको माहोल नेपाली कांग्रेसको पक्षमा रहेको बताउनुभयोे । उहाँले निर्वाचनको माहोल कांग्रेसको नेतृत्व रहेको गठबन्धनको पक्षमा बनेको जिकिर पनि गर्नुभयो ।
कांग्रेस प्रवक्ता डा. महतले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस कमजोर हुँदा स्थानीय निकायहरुको विकास प्रभावित भएको बताउदै स्थानीय निकायको संस्थागत स्वःमूल्यांकनमा नेपाली कांग्रेसले सम्हालेका निकायहरु अब्बल प्रमाणित भएकोले यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु हुनेमा विश्वास व्यक्त गर्नुभयो।
डा.महतले नेपाली कांग्रेसका सम्पूर्ण तहका साथीहरु,शुभेच्छुक र कांग्रेसप्रति आस्थावान सम्पूर्ण मतदाताहरुलाई लोकतन्त्र, गणतन्त्र, समावेशिता, संघीयता, कानूनी राज र संविधानवादका पक्षमा उभिने नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका पक्षमा सक्रिय भएर प्रचार प्रसारमा जुटन तथा मतदान गरी विजयी बनाउनुहुन अपिल गर्नुभएको छ ।
उहाँले अभिव्यक्ति,वाक तथा प्रकाशन स्वन्तन्त्रताका पक्षधर सञ्चारकर्मीहरुले निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनमत बनाउन सघाउने विश्वास व्यक्त गर्नूभयो ।
काग्रेस प्रवक्ता डा.महतले विश्व मजदूर दिवसा(मे दिवस)को अवसरमा नेपाल र विश्वभर छरिएका नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइ सबैमा शुभकामना दिनुभएको छ ।


















