Prakash Adhikari May 9, 2022

शरद केसी/बीबीसी न्यूज नेपाली

धनगढी(कैलाली), २६ बैशाख । स्थानीय तहको यस पटकको चुनावमा कैलालीको टीकापुरमा साढे छ वर्षअघिको घटना मुद्दा बन्न पुगेको छ।

त्यसको अगुवाइ घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहनुभएका रेशम चौधरीको नयाँ पार्टीले गरिरहेको छ।

थरुहटको आन्दोलनका क्रममा २०७२ सालको भदौमा प्रदर्शन हिंसात्मक बनेपछि भिडले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको हत्या गरेको थियो।

घटनामा एक नाबालक पनि मारिएका थिए।

केही महिनाअघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरीकी पत्नी हुनुहुन्छ।

‘न्याय खोज्दै’

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अगुवाइमा त्यस क्षेत्रमा चुनावी अभियान चलिरहेको छ।

उहाा टीकापुर नगर पालिकासँग जोडिएको जानकी गाउँपालिकाको विभिन्न वडाहरूमा भइरहेको चुनावी सभामा सरिक भइरहनुभएको छ।

त्यस क्रममा शनिवार वडा नम्बर २ बडरियाको चुनावी सभामा उहाँ भेटिनुभयो । उहाँ बसिरहेको मञ्चमा टीकापुर घटनासँग जोडिएको गीतमा बजिरहेको थियो।

गीतको मूल मर्म थियो, टीकापुर हत्यासँग जोडेर निर्दोषमाथि अन्याय भएको छ।

उक्त गाउँपालिकाको अध्यक्षका उम्मेदवार गणेश चौधरीले भन्नुभयो, “टीकापुरमा भदौ ७ गतेको घटनामा पक्राउ परेका थारु समुदायका मानिसहरू जेलमा हुनुहुन्छ तर भोलिपल्टको घटनामा संलग्न कोही पक्राउ परेनन्।”

‘फोर जी’ उम्मेदवारको संयोग

भदौ ८ गते थारु समुदायका मानिसहरूलाई निशाना बनाइएको उहााको भनाइ छ। चौधरी प्रश्न गर्नुहुन्छ, “लामो समयदेखि जारी शृङ्खलाबद्ध विभेद अन्त्य कसले गर्ने, हामीले नगरे हाम्रा सन्ततिले के पाउलान्?”

नागरिक उन्मुक्ति पार्टीको चुनावी सभा
नागरिक उन्मुक्ति पार्टीको चुनावी सभा

त्यसैले बाध्य भएर  सक्रिय पत्रकारितामा बिराम लगाउँदै सक्रिय राजनीतिमा हाम फालेको उहााको तर्क छ।

उहाँ जस्तै लेखन र पत्रकारितामा संलग्न अन्य दुई जना जी अर्थात् गिरीश गिरी राप्रपाबाट वीरगञ्ज महानगर र गनेश पौडेल स्वतन्त्र रूपमा पोखरा महानगरपालिकामा प्रमुखको उम्मेदवार बनेका छन्।

उहाँहरु तीनै जना पहिलो पटक राजनीतिक मैदानमा उत्रिनुभएको हो । धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भने दोस्रो पटक चुनावी भिडन्तमा हुनुहुन्छ।

ठूला दललाई ‘टक्कर’

नागरिक उन्मुक्ति पार्टीले दुई दर्जन जिल्लामा ३ सय भन्दा बढी स्थानमा उम्मेदवारी दिएको जनाएको छ।

तर उसको मुख्य पकड कैलालीको टीकापुर आसपासको क्षेत्रमा देखिन्छ।

उक्त दलले टीकापुर नगरपालिकाको उपप्रमुखको प्रतिस्पर्धामा उल्कादेवी विश्वकर्मालाई अघि सारेको छ।

उम्मेदवारहरूबीचको सार्वजनिक बहसमा सहभागी भएर निस्किएपछि उहाँले बीबीसीसँग भन्नुभयो, ूतीन दशकभन्दा लामो शिक्षण पेशा छाडेर राजनीतिमा आएकी हुँ।ू

जानकारहरूका अनुसार विभिन्न दलहरू सम्बद्ध स्थानीय नेता कार्यकर्ताहरू रेशम चौधरीको दलमा आबद्ध भएका छन्।

पार्टी जगः टीकापुर घटना

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सम थापाका भनाइमा नेपाली कांग्रेस, माओवादी र उनकै दलका मानिसहरू पनि उन्मुक्ति पार्टीमा जोडिएका छन्।

पत्रकारिता छाडेर उम्मेदवार बनेका गणेश चौधरी कार्यकर्ताहरूका साथ

पत्रकारिता छाडेर उम्मेदवार बनेका गणेश चौधरी

उहाँले भन्नुभयो, “जिल्लाभर त होइन, टीकापुर नगर र जानकी गाउँपालिकामा उहाँहरूको उपस्थिति बलियो देखिन्छ।”

उम्मेदवार गणेश चौधरीले आफ्नो गाउँपालिकामा आफ्नो मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवारसँग हुने बताउनुभयो।

नव स्थापित पार्टी ठूला दललाई चुनौती दिने अवस्थामा आइपुगेको कुरा एमाले नेता सम थापा पनि स्वीकार गर्नुहुन्छ।

पूर्व पत्रकार थापा भन्नुहुन्छ, “उहाँहरूले पार्टी सङ्गठनको मुख्य आधार टीकापुर घटनालाई नै बनाउनु भएको छ।”

रेशम चौधरी निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ। उपेन्द्र यादव र महन्थ ठाकुर अलग भएपछि उहाँकी पत्नीको अध्यक्षतामा नयाँ दल खुलेको हो।

Share Now

Leave a comment.