कीर्तिपुर(काठमाडौं), २६ बैशाख । नेपालले जिम्बावे ‘ए’ विरूद्धको एकदिवसीय सिरिज जितेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सिरिज २-१ जितेको हो।
यसअघि पहिलो एकदिवसीय जिम्बावेले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।
सोमबार ३३ ओभरमा झारिएको खेलमा नेपालले जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ३०.१ ओभरमा पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रन जोडे। उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले २९ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। दीपेन्द्रले नटआउट ६० रन जोडे। उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
रोहित पौडेल डकआउट हुँदा विनोद भण्डारीले पनि नटआउट २८ रन जोडे। विनोदले २६ बलमा ३ चौका हिर्काए।
नेपाललाई रोक्ने क्रममा जिम्बावेका माभुताले ३ विकेट लिए।
त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावे ३२.१ ओभरमा २ सय १३ रनमा अलआउट भयो।
गए रातिको वर्षाका कारण मैदान हिलो भएकाले टस हुन ढिलाइ भएपछि खेल ३३ ओभरमा झारिएको थियो।
जिम्बावेका लागि ओपनिङ ब्याट्सम्यान मारूमानीले ५० रन जोडे। खेलमा माउजेले ३९ रन र रोए काइयाले ३६ रन जोडे। कप्तान टोनी मुन्योङ्गाले २४ रनको योगदान दिए भने लुक जोङ्गेले १९ रन बटुले। खेलमा सेफास जहाओले १६,इनोसेन्ट कायाले १२, ब्राड इभान ७,ब्राण्डन मोभातु ६ र जोनाथन क्याम्पबेलले ३ रन जोडे ।
जिम्बाबे ए टिमलाई रोक्न बलिङमा किशोर महतोले ५ विकेट लिए। उनले ७ ओभरमा ४३ रन दिए। सोमपाल कामीले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १ १ विकेट हात पारे।
खेलमा प्लेयर अफ दि म्याच किशोरी महतो भए भने प्लेयर अफ दि सेरिज करन के.सी. भए ।
एक दिवसीय खेलभन्दा पहिले सम्पन्न टी २० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो। एक खेल बर्षाले रद्द भएको थियो ।
नेपालले आगामी महिना अमेरिकामा हुने आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो


















