धनगढी(कैलाली), २६ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनावमा एमाले जिताउने गल्ति नगर्न मतदाताहरुलाई सजग गराउनुभएको छ ।
सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीको सरकारमा गएभने स्थानीय तह पनि भंग गर्न सक्ने बताउनुभयो ।
उहाँले एमालेका अध्यक्ष ओलीमा शासन सत्ता आफूमा केन्द्रित गर्ने अधिनायकवादी शैली रहेको र प्रदेशलाई समेत प्रशासनिक इकाई भन्नेले स्थानीय तहलाई भंग गर्न सक्ने जोखिम रहेको पनि बताउनुभयो ।
‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन् । हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन् ,’ देउवाले भन्न्ुभयो।
उहाँले संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको उल्लेख गर्दै भन्नुभयो, ‘एमाले पार्टीलाई जिताएर के गर्ने ? फेरि संसद भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ?’
एमालेलाई जिताउनु भनेकै संसद भंग गर्न म्यान्डेट दिनु हो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गर्ने नै हो, यस्तो व्यक्तिलाई संसदमा ल्याउनु हुँदैन । ओलीजीले जितेको खण्डमा फेरि त्यही गर्ने हो।’
आमसभालाई संबोधन गर्दै कांग्रेस सभापति देउवाले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने बताउनुभयो । साथै उहाँले गठबन्धनप्रति इमान्दार बन्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
बागीलाई फिर्ता लिन आग्रह
कांग्रे सभापति देउवाले पार्टीका बागी उम्मेदवारलाई विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उम्मेदवार फिर्ता नलिए कारवाही गरिने चेतावनी पनि दिनुभयो ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवार कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो ।
उहाँले विगतमा पनि बागी उम्मेदवारका कारण पार्टीले चुनाव हारेको उल्लेख गर्नुहुँदै बागीलाई माफी नहुने बताउनुभयो । सभापति देउवाले भन्नुभयो–‘चुनाव हारियो भने माफी हुँदैन ।’
कैलालीको कैलारी र जोशीपुर गाउँपालिकामा बागी उम्मेदवारका कारण समस्या रहेको उल्लेख गर्नु हुँदै उहाँले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो । ‘बागी हाम्रा उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको केन्द्रलाई जानकारी गराउनुस् । फिर्ता लिनु भएन भने कारबाही हुनेछ’, उहाँले भन्नुभयो ।
केन्द्र र प्रदेशमा गठबन्धन सरकार रहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले गठबन्धन सरकारलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । ‘प्रदेशमा पनि हाम्रो गठबन्धन सरकार छ । सबै पार्टीका सदस्य गठबन्धन सरकारमा छन्’, उहाँले भन्नुभयो ।
उहाँले सुदूरपश्चिमको कारणले आफू प्रधानमन्त्री भएको उल्लेख गर्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेशको सबै ठाउँमा काम गर्ने बताउनुभयो । ‘म यहाँ पूर्ण रुपले काम गर्नुछ । सुदूरपश्चिम प्रदेशको सबै ठाउँमा काम गर्नुपर्नेछ’, उहाँले भन्नुभयो ।
गठबन्धन सरकारले सुदूरपश्चिमलाई बजेटमा प्राथमिकतामा राखेको सभापति देउवाको भनाइ थियो । उहाँले ठाउँ–ठाउँमा बाटो बनाउने कार्यलाई प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै खुटिया–दिपायल सडकदेखि, चीनसम्म पुग्ने बाटो बनाइने बताउनुभयो । उहाँले कर्णालीको तल्लो भागबाट डोटी, सुर्खेत जोड्ने पनि बताउनुभयो ।
गठबन्धन लामो जाने : प्रचण्ड
सोही सभालाई सम्बोधन गर्नु हुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र( अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउने काम गठबन्धनले गरेकाले जनताको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा दृढतापूर्वक गठबन्धनको पक्षमा उभिनु खुशीको विषय रहेको उल्लेख गर्नुभयो । ‘उहाँले निर्वाचनलाईमात्रै हैन, भोलि प्रदेश, सङ्घका साथै विकास र समृद्धिको यात्रामा गठबन्धन दशकौंसम्म जाओस् भन्ने एउटा सपना प्रस्तुत गर्नुभएको छ’, प्रचण्डले भन्नभयो ।
प्रतिगमनको विरुद्ध र मुलुकलाई अराजकतातिर जानबाट जोगाउनका लागि पाँच दलीय गठबन्धन बनेको उहाँले उल्लेख गर्नुभयो । अहिले प्रतिगमनका विरुद्धमा रहेकाहरुको एकातिर र प्रतिगमनकारी, परिवर्तन नचाहने, राजावादीहरुको गठबन्धन अर्कोतिर रहेको प्रचण्डको भनाइ थियो । उहाँले प्रतिगमनकारी गठबन्धनको नेतृत्व नेकपा (एमाले) अध्यक्ष ओलीले गरिरहनुभएकोे जिकिर गर्नुभयो ।
चुनावी सभामा बोल्दै नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष प्रमेश हमालले ओली काल्पनिक विकासका सूत्राधार रहेको बताउदै एमालेको सर्वसत्तावादी चिन्तन भएको पार्टी भएकोले पाँचदलीय गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।
सभालाई काँग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुर, केन्द्रीय सदस्य नेत्री डा। आरजु देउवा राणा, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता दीर्घ सोडारी, धनगढी उपमहानगरपालिकामा मेयरका उम्मेदवार नृप वड लगायतकाले सम्बोधन गर्नुभएको थियो ।
यसैवीच सभापति देउवा आजै आफू मतदाता रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका पुग्नुभएको छ । उहाँले गन्यापधुरामा आयोजित सभालाई सम्वोधन पनि गर्नुभयो । प्रधानमन्त्रीले मंगलबार पनि डडेल्धुराका विभिन्न पालिकामा आयोजना हुने सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।


















