पोखरा(कास्की), २६ बैशाख । पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका बागी विमलबहादुर कार्कीले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने हुनभएको छ ।
सोमबार विज्ञप्ति जारी गरी उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाट उम्मेदवार हुनुहुन्छ ।
कार्कीले स्थानीय तह निर्वाचनमा काँग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको तर साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको उल्लेख गर्नुभएको छ ।


















