काठमाडौं, २९ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको बताउनुभएको छ ।।
शुक्रवार देशभरका ७ सय ५३ स्थानीय तहका १० हजार बढी मतदान केन्द्रमा एक साथ मतदान हुँदैछ।
“निर्वाचनको सम्पूर्ण तयारी पूरा भएका छन्। शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ”,बिहीवार आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो।
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको भन्दै प्रमुख आयुक्त थपलियाले पद पैसा र पहुँचबाट निर्देशित नहुन र आश्वासनमा नपर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ।
“कसैको प्रलोभन वा प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी निर्धक्क तरिकाले मतदान गर्नुहुन मतदाताहरूलाई आह्वान गर्दछु”, थपलियाले भन्नुभयो।
मतदान सकिनासाथ सुरक्षित तरिकाले मतपेटिका ढुवानी र लगत्तै गणनाको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
मतदाता परिचयपत्र नभए पनि मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले नागरिकता,राहदानी जस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले बताएको छ।
थपलियाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदानको व्यवस्था गरिएको यो पहिलो अवसर भएको दाबी समेत गरेका छन्।
प्रचण्ड, पृथ्वी सुब्बा गुरुङ, प्रेम आले र आरजु राणालाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ।
माओवादी अध्यक्ष प्रचण्डलाई भरतपुरमा मतदातालाई धम्की दिएको भन्ने विषयमा उजुरी परेको थियो।
प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य राणामाथि धनगढीमा मतदातालाई अनुचित प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको उजुरी परेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।
दुवै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। आयोगले पर्यटनमन्त्री प्रेम आलेलाई पनि आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधिएको बताएको छ।
आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी नेतृ समेत रहेकी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई मौन अवधिमा सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।
आयोगले आचार संहिता कार्यान्वयनमा आएयता ६६ जनालाई आचार संहिता उल्लङ्घनमा स्पष्टीकरण गराएको जनाएको छ।
आयोगले ९ जनालाई सचेत र एक जनालाई ध्यानाकर्षण गराएको समेत जनाएको छ।
आयोगले निर्वाचन आचार संहिता विपरीतका समाचार प्रसारण गरेको भन्दै केही सञ्चार माध्यमलाई पनि समेत सचेत गराएको जनाएको छ।


















