सानेपा(ललितपुर), २९ वैशाख। नेपाली कांग्रेसले चितवन घर भएका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयको अवज्ञा गर्दै अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर भएका क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ घर भएका तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा। केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको थियो ।
कांग्रेसले दिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नगरेकोले मेयरका स्वतन्त्र उम्मेवार बन्ने पौडेल, उहाँका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पार्टीबाट निष्कासन गरिसकेको थियो ।


















