काठमाडौँ, ३० वैशाख ३० । आज स्थानीय तहको निर्वाचन अन्तरगत मतदान भैरहेको छ ।
मतदान कार्यक्रम बिहान ७ बजेदेखि नै प्रारम्भ भएको छ ।
देशभरका मतदान केन्द्रमा मतदाताहरु लामबद्ध भैसकेका छन् ।
जल तथा मौसम विभागले पानी पर्ने संभावना भएको सन्देश प्रवाह गरेकोले मतदाताहरु बिहानै मतदान केन्द्रमा पुगेका हुन् ।
देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ प्रतिनिधि निर्वाचित गर्न आज मतदान भैरहेको हो ।
निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २ सय २१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् ।
तीमध्येबाट कुल ३४ हजार ६ सय ६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।
निर्वाचनको क्रममा ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । १सय ७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं। १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ ।
जसमध्ये ८७ लाख ४१ हजार ५ सय ३० महिला र ८९ लाख ८२ हजार १०पुरुष तथा १ सय ८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।
आयोगले वैशाख २९ गतेलाई निर्दिष्ट मिति तय गरेको हुँदा चुनाव घोषणा भएको मितिपछि १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन् ।
स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।
आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं। १७ मा समेत जेठ ३ गते नै मतदान हुनेछ ।
महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका प्रत्याशी शुभावती कुर्मीको र दाङको वडा नं। १७ का वडा अध्यक्ष पदका प्रत्याशी लभरु चौधरीको निधन हुँदा दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान सारिएको आयोगले जनाएको छ ।
करिब ४० अर्ब खर्च
अर्थ मन्त्रालयका अनुसार स्थानीय निर्वाचन २०७९ का लागि करिब १६ अर्ब रुपियाँ बराबरको स्रोत सुनिश्चितता र निकासा भएको छ । उक्त बजेट निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले खर्च गर्नेछन् ।
निर्वाचन आयोगले करिब आठ अर्ब रुपियाँ खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरी खर्च भएबमोजिम निकासा गरिँदै आएको छ । रक्षा र गृह मन्त्रालयका लागि भने निर्वाचन सुरक्षा प्रयोजनका लागि करिब ८ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्च सीमा र उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा स्थानीय निर्वाचन २०७९ मा करिब ४० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।


















