काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु स्थानीय तह निर्वाचनको मतदानमा सरिक हुनुभएको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती माध्यमिक विद्यालयमा मतदान गरिसक्नुभएको छ भने अन्य नेताहरु पनि मतदानका लागि आ–आफ्नो गृहजिल्लाका संबन्धित मतदानकेन्द्रमा पुगिसक्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा गन्यापधुरा गाउँपालिका वडा नम्बर १ रुवाखोलामा मतदान गर्नुहुनेछ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा रुवाखोलाको असीग्राम माध्यमिक विद्यालयमा तोकिएको मतदान केन्द्रमा मतदान गर्ने उहाँको सचिवालयले जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्र र अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापाको मेचीनगर नगरपालिकामा पर्ने कवि शिरोमणि माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नु हुनेछ।दुवै महामन्त्रीले मतदान गरिसक्नुभएको छ ।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापाको भद्रपुर नगरपालिका–१० मा रहेको कलबलगुढी प्रशिक्षण केन्द्र मतदान केन्द्रमा र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६ पकनाजोल मतदान केन्द्रमा मतदान गर्ने गर्ने कार्यक्रम छ। सिंहले मतदान गरिसक्नुभएको छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङको विराटनगरमा मतदान गर्नु हुनेछ ।
उहाँले विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श मावि मतदान केन्द्रमा मतदान गर्ने स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ।
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा ज्योतिनगरमा रहेको ज्योति मावि मतदान केन्द्रमा, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा अवस्थित राष्ट्रिय मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ। गृहमन्त्री खाँणले मतदान गरिसक्नुभएको छ ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य एनपी साउद कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ स्थित वैजनाथ मावि मतदान केन्द्र र अर्का केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुरकै वेदकोट नगरपालिका–८ वैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्नुहुने भएको छ।
कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको गाउँ फर्कोदय मावि मतदान केन्द्र र कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायर डोटीको शिखर नगरपालिका–८ गोपघाटमा पर्ने राधाकृष्ण मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।


















