काठमाडौं, ३० वैशाख । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ ।
मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।
अहिले सो स्थानमा स्थिति सामान्य रहेको सिन्धुपाल्चोकबाट पत्रकार दिनेश थापाले जानकारी दिनुभएको छ।
निर्वाचन अधिकृतको हस्ताक्षर छुट्दा
यसैगरी पाँचपोखरी थाङपाल–२ को याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि पनि केहीबेर तनाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ ।
सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिनुभएको छ ।
बाजुरामा तनाव, प्रहरीद्वारा हवाई फायर
बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ ।
दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारीले लोकेन्द्रबहादुर विष्टले बताउनुभएको छ ।
हुम्लाको चंखेलीमा झडप
हुम्लाको चंखेली गाउँपालिका(२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।
गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।
घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहनुभएको छ ।
झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।
दोलखाको वैत्यश्वरमा हवाई फायर, मतदान स्थगित
दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं। १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।
निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन । स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।
गैरीमुदीका जनज्योती मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ ।
त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभया ।
बाराको देवतालमा झडप, मतदान रोकियो
बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ ।
दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभएको छ ।
बाँके र लमजुड. मा एमालेद्धारा गठबन्धनमाथि आक्रमण
यसैबीच बाँकेबाट प्राप्त समाचार अनुसार बाँकेको खजुरा र बैजानाथ गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण भएको छ ।
यसै गरी लमजुड.को सुन्दरबजार नगरपालिकाको परेवाडाँडा र क्लोलोथार गाउँपालिकामा पनि एमाले र कांग्रेसकाबीच झडप भएको समाचार प्राप्त भएका छन् ।


















