काठमाडौं, ३ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा अवरोधको मंगलबार अन्त्य गरेको छ ।
मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको अर्थतन्त्र संकटमा रहेको र यसबारे संसदमा छलफल हुनुपर्ने भएकाले पनि संसद अवरोध अन्त्य गर्ने निर्णयमा पार्टी पुगेको ज्ञवालीले बताउनुभयो ।
उहाँले पार्टी विभाजनको सन्दर्भमा पार्टीले दिएको आधिकारिक सूचना समयमा सार्वजनिक नगरेर सभामुखले आफ्नो दल विभाजन गर्न दिएको घटनामा अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेको बताउनुभयो । उहाँले भन्नुभयो, विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं ।’
निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले गत २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।
गत बर्षको बजेट अधिवेशन र हिउँदे अधिवेशनमा एमालेका नाराबाजीका बीच बजेट (प्रतिस्थापपन विधेयक) लगायतका केही विधेयक पास भएका थिए ।
३० वैशाखमा स्थानीय तह निर्वाचन भएपछि भने एमालेले संसदको अवरोध हटायो ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्नुभएका एमालेका उपमहासचिव प्रदीप ज्ञवलीले दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्धेश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो भन्ने एमालेको अडान कायमै रहेको उहाँले बताउनुभयो।
नीति तथा कार्यक्रम जेठ ७ मा
सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुृहुने छ ।
जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।


















