Prakash Adhikari May 24, 2022

ललितपुर, १० जेठ । ललितपुर महानगरपालिकाको परिणाम मिश्रित आएको छ । महानगरको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ भने उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य विजयी बन्नुभएको छ ।

नेपाली कांग्रेसबाट महानगर प्रमुखमा विजयी महर्जनले ४२ हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ। उहाँले आफ्ना निकटतम् प्रतिद्धन्द्धी एमालेका हरिकृष्ण व्याञ्जनकारलाई १२ हजार ९ सय ४३ मतले पराजित गर्नुभयो। व्याञ्जनकारले २९ हजार ९ सय ८६ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४ हजार ५ सय ५२ मतसहित विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यलाई पराजित गर्नुभयो । बज्राचार्यले १७ हजार ५ सय ८८ मत प्राप्त गर्नुभएको छ।

ललितपुर महानगर प्रमुखमा यसअघि २०७४ सालमासमेत कांग्रेसका महर्जन निर्वाचित हुनुभएको थियो।

कुन वडामा कसको जित ?

ललितपुर महानगर–१ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी)का राजेश कुमार महर्जन, ३ मा नेकपा .(एकीकृत समाजवादी)का श्रीगोपाल महर्जन, ४ मा नेपाली कांग्रेसका सन्तोष खड्का, ५ मा नेकपा (एमाले)का विकासमान श्रेष्ठ, ६ मा कांग्रेसका रुपेन्द्रराज शाक्य, ७ मा कांग्रेसका कुलबहादुर महर्जन, ८ मा कांग्रेसका बाबुरत्न महर्जन, ९ मा कांग्रेसका राजु महर्जन, १० मा कांग्रेसका रविन मान ब्यञ्जनकार, ११ मा कांग्रेसका अरोजकुमार खड्गी, १२ मा एमालेका नारायणलाल अवाले, १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी, १४ मा कांग्रेसका अमृतजंग महत, १५ मा एमालेका सुरेशबहादुर साही विजयी हुनुभएको छ।

महानगरको वडा नम्बर १६ मा कांग्रेसका निर्मलरत्न शाक्य, १७ मा एमालेका विनोद महर्जन, १८ मा एमालेका दामोदर खड्का, १९ मा एमालेका राजेन्द्र महर्जन, २० मा कांग्रेसका चन्द्रलाल महर्जन, २१ मा नेकपा (माओवादी केन्द्र)का रविन्द्र महर्जन, २२ मा एमालेका सागर तुलाधर, २३ मा एमालेका जीवन महर्जन, २४ मा एमालेका दिनेशजंग पाण्डे, २५ मा एमालेका दौलत कुमार खत्री, २६ मा माओवादी केन्द्रका सुरेश महर्जन, २७ मा माओवादीका कृष्णहरि महर्जन, २८ मा कांग्रेसका महर्जन, २९ मा एमालेका गणेश महर्जन विजयी हुनुभएको छ।

महानगरको २९ वडामध्ये कांग्रेसले ११, एमाले ११, माओवादी तीन, नेकपा एकीकृत समाजवादीले दुई र स्वतन्त्र दुई वडामा विजय भएका छन्।

ललितपुरका कुन नगरमा कसले जिते ?

ललितपुर जिल्लाका तीन गाउँपालिकामध्ये कोन्ज्योसोमको अध्यक्षमा नेकपा (एमाले)का कृष्णमान लामा र उपाध्यक्षमा कांग्रेसका राजनप्रसाद घिमिरे, बाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर, महाङ्काल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी र उपाध्यक्षमा माओवादीका डोल्मा माया गोले विजयी हुनु भएको छ।

यसैगरी, गोदावरी नगरप्रमुखमा कांग्रेसका गजेन्द्र महर्जन र उपप्रमुखमा कांग्रेकी मुना अधिकारी विजयी हुनुहुन्छ। महालक्ष्मी नगरप्रमुखमा हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी महर्जन विजयी हुनुभएको छ।

Share Now

Leave a comment.