Prakash Adhikari May 28, 2022

काठमाडौं, १४ जेठ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुन लागेको नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिदेशीय सिरिज खेल्न अमेरिका प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल क्रिकेट संघले विदाई गरेको छ ।

संघले शनिवार बिदाई कार्यक्रमको आयोजना गरेको हो । बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द,कोषाध्यक्ष रोशन कुमार सिंह र कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको
थियो ।
नेपाली टोली भोलि अमेरिका पुग्ने बताइएको छ ।

हरेक खेलमा जितको प्रयास

अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले सिरिजका हरेक खेलमा जित निकाल्ने प्रयास गर्ने बताए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ । नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टोली अमेरिका जानुअघि आइबार नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध पूरा भएको ७५औं वर्षगाँठको अवसरमा लिग–२ बारे पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सन्दीपले अमेरिकामा हुने सिरिजका लागि टोलीका सबै खेलाडी उत्साहित रहेको पनि बताए। प्रशिक्षक पुवुदु दासानायकेले आफू अमेरिकाको समेत प्रशिक्षक रहिसकेकाले नेपालका लागि यस भ्रमण राम्रो अवसर हुने बताए । दसानायकेले नेपाली टोली प्रतियोगिता अघिनै अमेरिका जाने र त्यहाँ नेपाली समुदायसँग केही अभ्यास खेल खेल्ने पनि जानकारी गराए।

सिरिज खेल्ने नेपाली टिम मे २९ तारिखमा अमेरिकाको टेक्सास पुग्नेछ। त्यहाँ एक दिन आराम पछि नेपाली टिमले मे ३१ तारिखमा अभ्यास गर्नेछ। पुनः एक दिन आराम पछि नेपालले अमेरिकाको नेपाली क्लब नेपाली अल स्टार्ससंग जुन २ तारिखमा एकदिवसीय अभ्यास खेल खेल्नेछ। जुन ३ तारिखमा टिमले अभ्यास गर्नेछ भने जुन ४ तारिखमा नेपालले हस्टन हरिकेन्ससंग दोश्रो एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

क्यानले अमेरिका भ्रमणका लागि एक साताअघि नै सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल

Share Now

Leave a comment.