गाईघाट(उदयपुर), १६ जेठ । उदयपुरको त्रियुगा नगरपालिकाको परिणाम नेपाली कांग्रेसको पक्षमा गएको छ ।
त्रियुगाको प्रमुखमा नेपाली कांग्रेसका वसन्त बस्नेत विजयी हुनुभयो। बस्नेतले १३ हजार ९ सय ५९ मत पाउनुभयो। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउले ११ हजार ८ सय ७३ मत पाउनुभयो ।
यस्तै पूर्वमेयरसमेत रहेका एकीकृत समाजवादीका बलदेब चौधरीले ९ हजार १ सय ४७ मत पाउनुभयो ।
यस्तै उपप्रमुखमा भने एमालेकी महेश्वरी राई निर्वाचित हुनुभयो।
महेश्वरीले नेपाली काङ्ग्रेसकी सरिता राईलाई पराजित गर्नुभयो। महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा कांग्रेसकी सरिताले ११ हजार ९ सय ८१ मत पाउनुभयो।
यस्तै नेकपा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाउनुभयो।
त्रियुगाका १६ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ४ र ३ वडा माओवादी केन्द्रले जितेका छन्।
त्रियुगामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो।
त्रियुगामा निर्वाचन सकिएको ११ दिनपछि गणना सुरू गरिएको थियो। तोकिएकै समयमै मतदान भए पनि पानी परेको कारण निर्वाचन आयोगले स्थगन गरेको १२ नम्बर वडाको मतदान प्रक्रिया अर्को दिन गर्न पर्ने कि नपर्ने भन्नेमा विवाद भएकोले मतगणना सुरू हुन सकेको थिएन।
निर्वाचन आयोगले यथास्थितिबाटै गणना सुरु गर्न निर्देशन दिएपछि जेठ १० गतेदेखि गणना सुरू गरिएको थियो।
यो सँगै नेपाली कांग्रेसले ३ सय २९ पालिकामा प्रमुख पद जितेको छ। अब बाजुराको बुढीगंगा नगरपालिकाको नतिजा आउन बाँकी छ। त्यहाँ निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको छ ।


















