जोमसोम(मुस्ताड.), १६ जेठ । आइतवार बिहानबाट सम्पर्कविहीन भएको तारा एअरको एउटा यात्रुवाहक विमान दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।
सोमवार ट्वीट मार्फत् प्राधिकरणले १६ जनाको शव भेटिएको र एकत्रित गरिएको तर पहिचान हुन बाँकी रहेको जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले फिस्टेल एअरको हेलिकप्टरले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको जनाएको छ।
प्राधिकरणले उक्त हेलिकप्टर दुर्घटना स्थल अवतरण गरेको र उद्धारको कार्य तीव्र रूपमा जारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
घट्ना स्थलबाट प्राप्त जानकारी अनुसार हाल सम्म १६ जनाको शव भेटिएको, एकत्रित गरिएको र पहिचान हुन बाँकी रहेको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले हालसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहित २३ जना दुर्घटना स्थलमा पुगिसकेको बताउनुभएको छ।
“विमान एकदमै खोँच भएको ठाउँमा खसेको रहेछ। हराइरहेकाहरूको खोजी भइरहेको छ। तर बाक्लो बादल लागेका कारण हवाई माध्यमको सहयोग लिन सकिएको छैन”, कर्णले भन्नुभयो।
उहाँले जोमसोमसहित आसपासका क्षेत्रमा हेलिकप्टरहरू तैनाथ राखिएको जानकारी दिनुभएको छ।
यसअघि नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताउनुभएको थियो।
सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नुभएको थियो, “खोजी तथा उद्धार कार्यमा संलग्न फौजहरूले विमान दुर्घटना स्थल भौतिक रूपमा पत्ता लगाएका छन्।”
Crash site: Sanosware, Thasang-2, Mustang pic.twitter.com/OcN93N1Qyb
— NASpokesperson (@NaSpokesperson) May 30, 2022
विमान सञ्चालक तारा एअरले पनि एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाग्रस्त भेटिएको घटनाले स्तब्ध बनाएको जनाएको छ।
त्यसैगरी विमान दुर्घटना स्थलमा पुगेका एकजना स्थानीय ईन्द्र सिंह शेरचनले विमान क्षतविक्षत अवस्थामा भेटिएको बताउनुभएको छ।
“विमान क्षतविक्षत अवस्थामा खोँचमा परेको छ। मान्छेहरू पनि देखिन्छन्”, दुर्घटना स्थलबाट शेरचनले भन्नुभयो।
वडाध्यक्षको भनाई
विमान दुर्घटना भएको थासाङ गाउँपालिका २ का वडाध्यक्ष दीपक शेरचनले दुर्घटना भएको भनिएको स्थान मानव बस्तीभन्दा धेरै माथि धौलागिरी हिमशृङ्खलाको फेदमा रहेको बताउनुभयो।
उहाँका अनुसार त्यस क्षेत्रमा यो मौसममा यार्सागुम्बा खोज्नेहरू जाने गरेका छन्।
“यार्सागुम्बा खोज्नेहरूले हिजै आवाज सुनेको भनेका थिए, तर बादल लागेका कारण खोज्न सकिएन। आज बिहान विमान क्षतविक्षत अवस्थामा भेटिएको त्यहाँ पुगेका मान्छेहरूले जानकारी दिए”, उहाँले भन्नुभयो।

पोखरा-जोमसोम देखिने नेपालको नक्सा
पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको विमान सम्पर्कविहीन भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त ट्विनअटर नाइन एन एटीई विमानमा चालकदलका तीन जनासहित २२ जना सवार थिए।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदरकुण्ड जान स्वदेशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्।
जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ।
घटना के हो ?
तारा एअरले विमानमा चार जना भारतीय, दुई जर्मन र बाँकी नेपाली नागरिक रहेको जनाएको छ।
जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार ९ः५५ बजे उडेको विमान केही मिनेटपछि सम्पर्कविहीन भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान १०ः११ बजेपश्चात् जोमसोम टावरमा सम्पर्कमा आएन। त्यसअघि प्राधिकरणले विमानसँग अन्तिम पटक घोडेपानी भन्ने स्थानमा १०ः०७ बजे जाँदा सम्पर्क भएको जनाएको थियो।
विमान तथा उडानको तथ्याङ्क राख्ने बेवसाइट फ्लाइटरेडार२४ का अनुसार अहिले हराइरहेको विमानले आफ्नो पहिलो उडान ४३ वर्षअगाडि गरेको थियो।
फ्लाइटरेडारका अनुसार सम्पर्कविच्छेद हुनुअघि उक्त विमान १२,८२५ फिटको उचाइमा थियो। अन्तिम सम्पर्क हुँदा विमान रहेको स्थानको ल्याटिट्यूड र लङ्गिट्यूड सार्वजनिक गरेको छ।
तारा एअरको नाइनएन एटीई विमान: पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन
पहिलो उडानः एप्रिल १९, १९७९
२२ जना सवारः दुई जर्मन, चार भारतीय र अन्य नेपाली नागरिक
डीएचसी ६ ३०० ट्विनअटर
उचाईः १२,८२५ फीटयूटीसी
समयः ०४ः२२ बजे (नेपाली समयानुसार बिहान १०ः०७ बजे) विमान त्यति उचाइमा पुगेपछि सम्पर्कविहीन
स्रोतःफ्लाईटराडर २४
नेपालमा भएका केही ठूला हवाई दुर्घटना
एप्रिल २०१९: सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९ : एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८ : गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मार्च २०१८ : बाङ्ग्लादेशबाट नेपाल आएको यूएस(बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
फेब्रुअरी २०१६ : पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
मे २०१५ : भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्तस छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५: सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्च २०१५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ : पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
सेप्टेम्बर २०१२ : काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
मे २०१२ : भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
सेप्टेम्बर २०११ : हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्तस नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
डिसेम्बर २०१० : लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
सेप्टेम्बर २०१० : हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डूनजिकै दुर्घटनाग्रस्त
अगस्ट २०१० : काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
अक्टोबर २००८ : लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
सेप्टेम्बर २००६ :ताप्लेजुड.को घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, डा. हर्क गुरुङ,संरक्षणविद् डा. सीबी गुरुङ, तीर्थमान मास्के
(बीबीसी)


















