Prakash Adhikari June 5, 2022

 

काठमाडौं, २२ जेठ । आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिदेशीय खेलका लागि अमेरिकाको पिचमा अभ्यास गरिरहेको नेपाली टिममाथि प्रतियोगिताका खेल सुरु नहुँदै समस्या थपिएको छ ।

अभ्यास खेलका क्रममा नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यानद्धय कुशल भुर्तेल र आशिफ शेख चोटग्रस्त भएका छन् । दुवै खेलाडी पहिलो खेल खेल्न सक्ने अवस्थामा नरहेको नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपाललाई विश्वकप लिग २ मा पुर्याउन महत्वपूर्ण रहने यो त्रिदेशीय खेलमा राष्ट्रिय टिमको प्रदर्शनमा कमी हुन नदिन नेपाल क्रिकेट संघले भेट्रान क्रिकेटर सुवास खकुरेललाई टिममा समावेश गर्ने निर्णय गरेको छ ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिदेशीय श्रृङ्खला खेल्नका लागि नेपाली टिम एक सातादेखि अमेरिकाको टेक्सासमा छ ।
अभ्यास खेलका क्रममा ओपनर द्धय कुशल भुर्तेल कुशलको ह्याम्स्ट्रिङ र आसिफलाई घुँडामा चोट लागेको थियो ।

नेपाल टिमका नियमित विकेटकिपरसमेत रहेका आसिफको नेपाल अलस्टारविरुद्दको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो ।
उनी शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा टिममा थिएनन् ।

कुशललाई सोही खेलमा फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको थियो । ‘आसिफको घुँडाको सिटी स्क्यान र एमआरआई भइसकेको छ ।

दुवै खेलाडी श्रृङ्खला सुरु हुने समयसम्म फिट हुने सम्भावना कम रहेकाले बन्द प्रशिक्षणका क्रममा राम्रो प्रदर्शन गरेका विकेटकिपर÷ओपनर सुवासलाई टिममा समावेश गर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।

अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवशीय विश्वकप छनोटको सुरुवाती खुट्किलोका रुपमा रहेको लिग टू अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला जेठ २६ गतेदेखि सुरु हुँदैछ । नेपालले अमेरिका र ओमानसँग २÷२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

 

विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्द खेल्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा अमेरिका पुगेको नेपाली टिममा रोहितकुमार पौडेल (उपकप्तान), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, सागर ढकाल र किशोर महतो रहेका छन् । अब सुबास खकुरेल पनि टिममा समावेश हुनेछन् ।

Share Now

Leave a comment.