Prakash Adhikari June 5, 2022

भैरहवा(रुपन्देही), २२ जेठ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु.२ ख. ३८४१ नम्बरको यात्रुबाहक बस रूपन्देहीको रोहिणी नदीमा दुर्घटना हुँदा ९ जनाको मृत्युभएकामध्ये ८ जनाको सनाखत भएको छ ।

आईतवार बिहान करिब ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका –३ र ओमसतिया गाउँपालिका–४ को सीमाना स्थित बसन्तपुर पुलबाट बस रोहिणी नदीमा खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनाको खबर पौने ५ बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

दुर्घटनामा परी बुटवल योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ ।

यस्तै, रूपन्देहीको तिलोत्तमा नगरपालिका ९ की तुलसी बस्याल र भारतीय नागरिकहरु अरविन्द्र शर्मा, नागेन्द्र शर्मा र सन्जय गुप्ताको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकामध्ये एक जनाको सनाखन हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र २ बालिका थिए ।

बस दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share Now

Leave a comment.