काठमाडौं, २५ जेठ । अमेरिकी सेनाको इण्डो प्यासेफिक कमाण्डिड. जनरल चार्ल्स फ्लिन नेपालको चारदिवसीय भ्रमणमा बिहिबार काठमाडौं. आउदै हुनुुहुन्छ।
भारतको चार दिवसीय भ्रमणमा रहनुभएका फ्लिन दिल्लीबाट सीधै काठमाडौं आउन लाग्नुभएको हो ।
भारतमा रहदा फ्लिनले हिजो मंगलबार भारतीय प्रधानसेनापति मनोज पाण्डेसँग द्विपक्षीय भेटवार्ता गरिसक्नुभएको छ।
भेटमा भारत र अमेरिकाबीच सैन्य सहकार्यका क्षेत्रहरुबारे छलफल भएको भारतीय सेनाले जनाएको छ।
उहाँले भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल बिएस राजुसँग अलग्गै भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
औपचारिक भेटघाट शुक्रबारदेखि
बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुने छ ।
बिहीबार अपरान्ह काठमाडौं उत्रेपछि उहाँ होटल हायातमा बस्नुहुनेछ। शुक्रबार सुरुमै फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन्।
शुक्रबार बिहानको खानापछि नेपाली सेनाको मुख्यालय जाने तय भएको छ। सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ ।
गार्डअफ अनरपछि उहाँलाई प्रधानसेनापतिको कार्यालय लगिने छ । त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगतै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ।
शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नुहुनेछ । रात्रिभोजमा सहभागी भएसँगै फ्लिनका त्यो दिनका कार्यक्रम सम्पन्न हुनेछ।
२८ गते शनिबार बिहान फ्लेनलाई हेलिकप्टरबाट माउन्टेन फ्लाइटमा गराइने छ। माउन्टेन फ्लाइटपछि एभरेष्ट भ्यु होटलमा ब्रेकफास्टको कार्यक्रम तय भएको छ। त्यहाँबाट फर्किएपछि दूतावास र परराष्ट्र मन्त्रालयले तय गरेका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
जेठ २९ गते आइतबार बिहान उहाँ काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानु हुनेछ। त्यहाँ तालिम केन्द्रबारे उहाँलाई ब्रिफिङ गरिनेछ। बिहानको खाना पनि त्यहीँ हुनेछ। बिहानको खानापछि सिधै उहाँलाई शिवपुरीको आर्मी शिक्षालय लगिने छ।
उहाँले त्यहाँ नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीमा अध्ययनरत विद्यार्थीलाई सम्वोधन गर्नु हुनेछ।
शिवपुरीको भ्रमणपछि २९ गते बेलुका नै उहाँ स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको अमेरिकाका उच्च सैन्य अधिकारीको भ्रमणको विशेष महत्व रहेको कुटनीतिक र रक्षा क्षेत्रमा चर्चा चलेको छ ।


















