Prakash Adhikari June 12, 2022

काठमाडौं,२९ जेठ । आईसीसी विश्वकप लिग– २ अन्तरगत अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय श्रृखलामा शनिबार भएको नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ ।

पहिले ब्याटिड. रोजेर खेलेको नेपालले अमेरिकालाई २ सय ७५ रनको लक्ष्य दिएको थियो । तर अमेरिकाले पनि ५० ओभरको सो खेलमा २ सय ७४ बनाएपछि खेल बराबरी भयो । दुवै देशले एक एक अंक बाँडे ।

यो खेलपछि नेपाल १४ खेलमा १३ अंकसहित छैठौं स्थानमा रहेको छ भने अमेरिका २२ औं खेलमा २१ अंकसहित चौथो स्थानमा रहेको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित मोसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो ।

Image

२ सय ७५ रनको लक्ष्य लिएको अमेरिका पनि ५० ओभरको खेलमा ६ विकेट गुमाउदै २ सय ७४ रन अडकियो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । सो खेलमा नेपालका आदिल आलम निकै राम्रो गरे । सुरुका तीन बलमा अमेरिकाले १।१ रन जोड्यो । चौथो बल नो बल भएपछि अमेरिकाले एक रन जोड्यो ।

अब निर्णायक दुई बल बाँकी भए । पाँचौ बलमा आदिलले आरोन जोन्सलाई रोहित पौडेलबाट क्याचआउट गराए । अन्तिम र निर्णायक बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै गुम्न लागेको खेल बराबरीमा ल्याए ।

अमेरिकाका लागि ओपनर टेलरले १ सय १४ रन बनाए । यस्तै कप्तान मोनाक पटेलले ८५ रन जोडे । अमेरिकाका आरोन जोन्सले २६, सुशान्त मोदानीले १७, राहुल जरिवालाले १० र गजानन्द सिंहले ४ रनको योगदान दिए ।

अमेरिकालाई रोक्न नेपालका लागि आदिल आलमले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक । एक विकेट लिए ।

ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको पुनरागमन अनि आदिल अन्सारीको डेब्युले नेपालको खेलमा राम्रो सुधार आएको थियो । तर अन्तिमतिर सम्हालिन नसक्दा दुई बल अघि नै अलआउट हुन पुग्यो । त्यहाँ समालिन सकेको भए अमेरिकासंगको पहिलो खेल नेपालले जित्ने निश्चितै थियो ।

 

नेपालका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए । । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आसिफले ६१ र देव खनालले ५४ रन योगदान गरे ।

नेपालका लागि मोहम्मद आदिल आलमले ३६,कुशल भुर्तेलले १९, क्याप्टेन सन्दीप लामिछानेले १०, आरिफ शेखले ८,दीपेन्द्रसिंह ऐरी, सुशन भारी र सोमपाल कामीले १।१ रन जोडे ।

नेपाललाई रोक्ने क्रममा अमेरिकाका रस्टी थेरोनले सर्वाधिक चार तथा अल खान र सौरभ नेत्रभाल्करले दुई । दुई विकेट लिए ।

खेलमा नेपालका मोहम्मद आदिल आलम प्लेयर अफ द म्याच भए ।

 

Image

Share Now

Leave a comment.