Prakash Adhikari June 12, 2022

कुवेत, २९ जेठ । खेलकै चलिरहेको बेला अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा ढलेका थिए ।

उनी ढलेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, अल्मुताईरी अचेत भइसकेका थिए ।

खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न पुगेका थिए । सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । गोललगत्तै खेल करिब ४ मिनेट रोकिएको थियो । यसपछि प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको हो ।

हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताएका छन् । एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि उनलाई होटल फर्काइने बताइएको छ ।

मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए ।

कुवेतसंग नेपाल पराजित

एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

 

यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल यसपहिले जोर्डनसंग पनि हारेको थियो । उसले २ ०ले पराजित गरको थियो ।

उसले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंकविहीन रहदै पुछारमा छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

नेपाल ले अन्तिम खेल ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । सो खेलमा भने प्रशिक्षक अब्दुल्लाह टेक्निकल एरियामा बस्न पाउँदैनन् ।

दुई खेलमा लगातार पहुँलो कार्ड प्राप्त गरेका कारण उनी निलम्बनमा हुनेछन् ।

Share Now

Leave a comment.