काठमाडौं , २ आषाढ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाउनुभएको छ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (प्रताप) को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो।
उहाँले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष दाहालले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको टिप्पणी गर्नुभयो। उहाँले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गर्नुभयो।
अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गर्नुभयो।
‘कतिपय बेला कयौँ भ्रमहरु सिर्जना हुने र त्यसले जनतालाई प्रश्न उब्जाउँछन्। हामीले त्यसलाई जवाफ दिने पनि गरेको छौँ। अहिले फेरि एकपटक कुनै न कुनै रुपले राष्ट्रवादको झुटो र राष्ट्रवादको बडो पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो। जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको बढी धावा दिने गरेको अनुभव नेपाली जनतालाई छु, उहाँले भन्नुभयो।
हिजोआज पनि एउटा प्रश्न एसपीपी भन्ने हुँदैछ, सैनिक सम्झौता भइसक्यो भनेजस्तो गरी प्रचार गरिएपनि त्यो विल्कुल गलत रहेको उहाँले बताउनुभयो
ुम गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्री, गठबन्धनसँग भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन। प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेण्ट गर्नुभएको छ। कोही भ्रममा पर्न जरुरी छैनु, अध्यक्ष प्रचण्डले भन्नुभयो।
एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको उहाँले बताउनुभयो।
ुयो कुरा हामी सबैले बुझ्न जरुरी छ। तर हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधिनताको पक्षमा, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ’, अध्यक्ष प्रचण्डले भन्नुभयो।
अध्यक्ष दाहालले गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउनुभयो।


















