Prakash Adhikari June 16, 2022

 

काठमाडौं, २ असार । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिने भएका छन् ।

बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको छ ।

समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ।

मर्जरसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ । बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड ।

ग्लोबल आइएमई बैंकमा दुई वाणिज्य बैंक सहित १८ वटा संस्था मर्ज भएका छन् । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएका थिए ।

लुम्बिनीले नवदुर्गा फाइनान्सलाई समेत गागेको थियो । यसरी ग्लोबल आइएमई बैंक २० वटाभन्दा बढी संस्था मर्जर भएर बनेको संस्था बन्ने भएको छ ।

बैशाख मसान्तसम्म ग्लोबलको निक्षेप २ खर्ब ७७ अर्ब तथा बिओकेको १ खर्ब ४ अर्ब छ । कर्जा भने २ खर्ब ७३ अर्ब ग्लोबल आइएमई बैंकको तथा १ खर्ब ९ अर्ब बिओकेको रहेको छ ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५२ अर्ब २९ करोड तथा चुक्ता पूँजी ३४ अर्ब ४१ करोड र निक्षेप ३ खर्ब ८४ अर्ब र कर्जा ३ खर्ब ८० अर्ब हुने छ । मर्जपछि बैंक व्यवसायको आकारमा पहिलो स्थानमा हुने छ ।

साथै, दुवै बैंकले जेष्ठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३ सय ८५ शाखा कार्यालय, ३ सय ६७ एटिएम, २ सय ७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताउनुभयो ।
उहाँले ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।

मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताउनुभयो ।

Share Now

Leave a comment.