Prakash Adhikari June 20, 2022

 

काठमाडौं, ६ आषाढ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

आज पार्क भिलेजमा हुने साधारण सभापछि निर्वाचन हुने बताएको छ ।

अध्यक्ष पदमा वर्तमान कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ भिड्दै हुनुहुन्छ ।

दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा होमिनुभएको छ । दुवैले २१ । २१ जनाको टिम बनाउनुभएको छ ।

अध्यक्ष पदमा राजिवराज पौड्याल पनि उम्मेदवारी दिनुभएको छ । उहाँको प्यानल छैन ।

 

कर्माको प्यानल
कर्माछिरिङ शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

सदस्यमा फ्रेण्ड्स क्लबका अध्यक्ष दीपक थापा, सिराहका प्रविण कुमार यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्वअध्यक्ष राम राजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेश सिंह राठौर, जुम्लाका भरत बुढ् थापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा क्लबका मनिष जोशी, विनोद लामा तामाङ हुनुहुन्छ। यस्तै दुई महिला सदस्यका लागि पेमा डोल्मा शेर्पा र बिना श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।

पंकजको प्यानल
पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का तथा चार उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा हुनुहुन्छ ।

सदस्यहरूमा भोजपुर जिल्ला संघका प्रविण सुवाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वरकुमार राउत कुर्मी, काभ्रे जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ, इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्की, मोरङ जिल्ला फुटबलका अध्यक्ष दीपेन्द्र धिमाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, कैलाली जिल्लाका अनिल मल्ल, सुर्खेत जिल्लाका रवीन्द्र चन्द र मुखिया लामा लिली उम्मेदवार बन्नुभएको छ ।

पंकज प्याजलबाट महिला सदस्यामा सरिला श्रेष्ठ र वृन्दा देवानले उम्मेदवारी दिनुभएको छ ।

२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक संघहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।

जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एकएक मताधिकार पाएका छन् ।

चार वर्ष अघि भएको एन्फा निर्वाचनमा कर्मा र पंकज समूह नै ‘क्लिन स्विप’ गर्दै एन्फा हाक्न आएको थियो ।

Share Now

Leave a comment.