काटमाडौं, ४ चैत्र ।सगरमाथा क्षेत्रमा थुप्रिएको फोहरलाई काठमाण्डू ल्याएर व्यवस्थापन गर्ने एक नयाँ सफाइ अभियान शनिवारबाट थालनी गरिएको छ।
सगरमाथा क्षेत्रमा दैनिक उडान गर्दै आएको एक निजी वायुसेवा र स्थानीय साझेदारहरूको सक्रियतामा सगरमाथा क्षेत्रबाट यो वर्ष १०० टन फोहर काठमाण्डू ल्याउने योजना बनाइएको छ।
शनिवार लुक्लाबाट काठमाण्डू ल्याइएको १२ सय किलोग्राम फोहरलाई पुन: प्रयोग गर्न सकिने एक फोहर व्यवस्थापकले बताए।
गत वर्ष एक लाखभन्दा बढी मानिस पुगेको सगरमाथा क्षेत्रमा कति फोहर जम्मा भयो होला? त्यसबारे अध्ययन भएको छैन।
तर सगरमाथा क्षेत्रका करिब २५ बस्तीमा जम्मा हुने फोहरमैला व्यवस्थापन गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार पर्यटकहरूको भीडसँगै त्यस क्षेत्रमा फोहरमैला पनि निरन्तर बढिरहेको छ।
सहयोग
फलाम, टिन जस्ता धातु, बोतल र अन्य फोहरलाई काठमाण्डू फिर्ता लैजान बेलाबखत गरिने सफाइ अभियानले निकै मद्दत गर्ने स्थानीयवासी बताउँछन्।
लुक्ला महिला समूहकी एक सदस्य निमा याङ्जी शेर्पाले भनिन्, “आधा फोहर त काठमाण्डूबाटै आउँछ। फोहर पुन:प्रयोग गर्न उतै पठाउन लागिएको छ। त्यसले यहाँको वातावरणलाई राम्रो गर्छ।”
आधा फोहर त काठमाण्डूबाटै आउँछ। फोहर पुन:प्रयोग गर्न उतै पठाउन लागिएको छ। त्यसले यहाँको वातावरणलाई राम्रो गर्छ
निमा याङ्जी शेर्पा, लुक्ला महिला समूह
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निम दोर्जे शेर्पाका विचारमा सफाइ अभियानले प्रदूषण नियन्त्रण गर्न सहयोग पुर्याएको छ।
सफाइ अभियानको क्रममा गोरखसेप, फेरिचे, नाम्चे, फाक्दिङ क्षेत्रमा जम्मा भएको फोहरलाई लुक्ला ल्याएर क्रमैसित विमानबाट काठमाण्डू ल्याउने योजना रहेको यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले बताए।
“एक वर्ष भित्रै एक सय टन पूरै लैजाने योजना छ।”
‘आम्दानी’
शनिवार काठमाण्डू ल्याइएको फोहर ‘ब्लू वेस्ट टु भ्यालु’ नामक एक निजी कम्पनीलाई हस्तान्तरण गरिएको छ।
उक्त कम्पनीका एक व्यवस्थापक आशिष खनालले सगरमाथा क्षेत्रको फोहरलाई सकेसम्म पुन:प्रयोग गरिने बताए।
“यो फोहर व्यवस्थापन गरेर हामी आम्दानी गर्न सक्छौं।”
आरोहीहरूको भीड लाग्ने उच्च हिमाली क्षेत्रको फोहरमैला व्यवस्थापन आफैंमा कठिन र महँगो रहेको जानकारहरू बताउछन्।
तर तल्लो भेगमा पदयात्रीहरूको भिडसँगै आउने फोहर व्यवस्थापन कार्य पनि कम चुनौतीपूर्ण नभएको सोलुखुम्बुवासी बताउँछन्।
बीबीसीबाट